धरानः धरानको युएन, नवोदय कलेजले कक्षा–११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित प्रदेश नं. १ कै एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ ।
मेची क्राउनको सगरमाथा हलमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै कडा मेहनतका साथ अध्ययन गरी अभिभावक र कलेजको नाम राख्न आग्रह गरे । विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको क्षेत्रमा करियर बनाउनको लागि गन्तव्य पहिल्याउन सजिलो होस् भन्ने उद्देश्यले पाँच तारे होटलको अवलोकन गराइएको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनले भने, ‘अवलोकन गरेपछि पाँचतारे होटल कस्तो हुँदोरहेछ, सिस्टम कसरी सञ्चालन हुँदोरहेछ भन्ने ज्ञान विद्यार्थीलाई भएको छ जसले गर्दा विद्यार्थीहरु उत्साहित भएका छन् ।’
कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले सफलता सजिलै हात नलाग्ने हुँदा अहिलेदेखि नै कडा मिहिनेतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाए । अर्को प्रसङ्गमा झाले युएन, नवोदय हस्पिटालिटी इडष्ट्रीको पर्याय भएको समेत बताए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले कक्षामा पढाइएको सैद्धान्तिक कुरालाई स्टार होटलमा ल्याएर प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीहरुले स्पष्ट बुझेको बताए । अवलोकन भ्रमणमा कक्षा–११ होटल म्यानेजमेन्टका १ सय ५९ जना विद्यार्थीहरु रहेको कलेजले जनाएको छ ।
एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिइएको छ । यस वर्ष पनि विद्यार्थीको उत्साहपूर्ण सहभागिता छ ।
होटल म्यानेजमेन्टका लागि प्रदेश नम्बर १ मै ब्रान्ड कलेज भएकाले प्लस टु मा पढ्ने विद्यार्थीहरुले प्राक्टिकल गर्न बिएचएमका लागि बनाइएको किचन ल्याबको प्रयोग गर्न पाउने क्याम्पस प्रमुख तुम्बापोले बताए । साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशालाका साथै दक्ष अध्यापकहरु भएको उनले बताए ।
होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई बढीभन्दा बढी प्राक्टिकलमा जोड दिइने होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई पठनपाठन मात्र नभएर उनीहरुको रुचिअनुसारको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिइने उनले जानकारी दिए । नयाँ कुरा सिक्ने र विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्ने ध्येयले आफूहरु लागेको उनले जानकारी दिए । प्रवेश परीक्षामा एसइई स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आइडलका बिजेता, एसइई स्पिकरका बिजेता, जिल्ला टपर, स्कुल टपर लगायतका प्रदेश नम्बर १ का प्रतिभावान विद्यार्थीहरुले प्रवेश परीक्षा दिएको क्याम्पस तुम्बापोले जानकारी दिए ।
‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने मूल मन्त्र लिएर ११ वर्षअघि स्थापना भएको युएन, नवोदय कलेज प्रदेश १ कै नमूना कलेजको रुपमा स्थापित भएको छ । विशेषतः होटल म्यानेजमेण्टमा विद्यार्थीको क्रेज बढी रहेको क्याम्पस प्रमुख तुम्बापो बताउँछन् ।
क्याम्पस प्रमुख तुम्बापोका अनुसार कलेजमा अध्ययनरत विद्यार्थीले नेपाल सेकेण्ड टपदेखि प्रदेश १ टप साथै धरान टपसम्म गर्न सफल भएका छन् । ‘यी उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मिहिनेत र प्रयासका उपज हुन भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्वापोले भने । तस्वीरहरूः हाम्रो कोशी आवाज




































































