Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेता, नेतृत्वहरू अब त सुध्रिने कि सक्किने ?

अनुषा थापा
भाद्र २३ २०८२, सोमबार
नेता, नेतृत्वहरू अब त सुध्रिने कि सक्किने ?

नेपालमा सूचीकरण हुन नआएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत साताको बिहिबारदेखि फेसबुकसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो । सामाजिक सञ्जालमाथि नियमन गर्नुको साटो सरकारले वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै विरोधहरु भइरहेका थिए । यसैक्रममा जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गर्यो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलामा आन्दोलनका लागि उनीहरुलाई हिजो अनुमति दियो । तर, शान्तिपूर्ण रुपमा हुने भनिएको आन्दोलनले सोच्दै नसोचेको रुप लियो । बिहान माइतीघरमा स्कूल, कलेजकै पोशाकमा विद्यार्थी, युवाहरु भेला भए । ब्याग बोकेरै आन्दोलनमा आएका उनीहरुको हातमा ‘हाम्रो भविष्य बिक्रीमा छैन’, ‘असन्तुष्टि चरम छ,नेताको गोजी गरम छ’, ‘जेन जी चिच्याउँछ,भ्रष्टहरुलाई गिज्याउँछ’, ‘जेन जी हियर,फ्युचर क्लियर’ लगायतका प्लेकार्डहरु थिए ।

‘जेन जी’ हरु सडकमा आउने भएपछि सयौंको संख्यामा प्रहरी खटाइयो । तर, घटनाले हिंसात्मक रुप लिन्छ भन्ने प्रहरीले आकलनसमेत गरेको थिएन । माइतीघरबाट निकालिएको र्याली नयाँ बानेश्वरमा आएपछि उग्र बन्यो । प्रहरीको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गरे । संसद् भवनमा तोडफोडदेखि आगजनीसम्म गरियो । आन्दोलन परिस्थितिभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यु आदेश जारी गर्यो ।

यता,प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउनेलाई गोली हान्न निर्देशन दिए । आन्दोलनमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते छन् । यता,सूचना संकलन गर्न गएका चार जना पत्रकारलाई पनि गोली लागेको छ । आन्दोलनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी र एक स्कोर्पियोमा आगजनी गरेका छन् ।

आन्दोलनलाई नियन्त्रणमा लिन आएका सेना र सशस्त्र प्रहरीको गाडीसमेत उनीहरुले घेरेका हुन् । काठमाडौंमा मात्र नभई पोखरा, बुटवल,भरतपुर,विराटनगर, वीरगञ्जलगायतका ठाउँमा भएको आन्दोलनले पनि अनपेक्षित रुप लियो । ईटहरीमा दुई जनाको ज्यान गएको छ । आन्दोलन नियन्त्रणभन्दा बाहिर गएपछि कास्की र रुपन्देही प्रशासनले पनि कर्फ्यु आदेश जारी गरेको छ । तैपनि,तत्काल आन्दोलन रोकिने छाँटकाँट देखिएको छैन ।

युवा पुस्ताहरु राजनीतिदेखि वाक्कदिक्क भइसकेका छन् । नेताप्रति आक्रोशको आगो बलिरहेको छ । मुलुकमा भ्रष्टाचार व्याप्त छ । सरकारले जनतामाथि करको भार थुपारिरहेको छ, जसको सदुपयोग हुन सकेको छैन । जनताले तिरेको कर नेतृत्वहरुको सुविधामै ठिक्क भइरहेको छ । अर्कोतिर,वैदेशिक ऋण निरन्तर बढ्दै गएको छ ।

रोजगारीको अवसर नहुँदा दैनिक दुई हजार बढी वैदेशिक रोजगारीमा गइरहेका छन् । कुनै समय कृषिउपज निर्यात गर्ने मुलुक अहिले श्रमिक निर्यात गर्ने मुलुकमा परिणत भएको छ । पटकपटक एउटै व्यक्ति पदमा पुग्ने र आफ्नालाई पोस्ने क्रम जारी छ । नेताका सन्तान र आफन्त उच्च पदमा पुगिरहँदा सर्वसाधारणका छोराछोरी खाडीमा रगतपसिना बगाउन बाध्य छन् ।

गरिबको नारा लगाएर सत्तामा पुगेका नेताहरु उनीहरुलाई फर्किएर पनि हेर्दैनन् । घुस नखुवाएसम्म सरकारी काम हुँदैन । सुशासनको नाममा कुशासन मौलाएको छ । देशलाई ‘लुटिखाने भाँडो’ बनाइएको छ । विकासको सपना देखाएर नेताहरुले बारम्बार जनतालाई झुक्याएका छन् । ‘सानालाई ऐन र ठूलालाई चैन’ को अवस्था छ ।

सानालाई धमाधम जेल कोचिरहँदा ठूल्ठूला अपराधमा मुछिएका पहुँचवालालाई संरक्षण गरिएको छ । नेतृत्वहरुले बारम्बार संविधानको उल्लंघन गरेका छन् । न्याय पाउनु ‘फलामको चिउरा चपाउनु’ सरह बनेको छ । नेताहरुलाई जनताले तिरेको करमा आलिशान महल बनिरहँदा जनता अहिलेपनि तुइनकै भरमा खोला तरिरहेका छन् ।

दुर्गम जिल्लामा सिटामोलसमेत नपाउने विडम्बनापूर्ण अवस्था छ । जनताको कुरा सुन्नुको साटो सरकारले उल्टै दमनयुक्त प्रवृत्ति देखाइरहेको छ । युवापुस्ताले नेपालमा भविष्य देख्न छोडिसकेका छन् । जनता समस्यै समस्यामा बाँचिरहँदा नेताहरु ‘तँ खाने कि म’ भन्नेमै केन्द्रित छन् । सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा आन्दोलन हुँदा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले मुलुक छोड्नुपरेको थियो ।

यता, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका थिए । नेपालमा पनि असन्तुष्टिका आवाजहरु गुन्जिँदै गएका छन् । जसलाई नेताले ख्यालख्यालमा लिइरहेका छन् । राजनीतिक पार्टीहरुले अझैपनि जनताको आवाजलाई नसुन्ने हो भने यसले ठूलै रुप लिने देखिन्छ ।

प्रकाशित मिति: भाद्र २३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend