Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एशियाड छनोट विवादमा तानियो, पुनः छनोट गर्न खेलाडीको माग

हाम्रो कोशी आवाज
असार ७ २०८३, आइतबार
एशियाड छनोट विवादमा तानियो, पुनः छनोट गर्न खेलाडीको माग

धरानः २० औं एसियाली खेलकुदका लागि नेपाल साइक्लिङ संघले सञ्चालन गरेको खेलाडी छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।
सहभागी खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष औपचारिक उजुरी दर्ता गर्दै छनोट प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएको दाबी गरेका छन् । खेलाडीहरूले बुझाएको निवेदनअनुसार प्रारम्भिक रूपमा क्रस कन्ट्री ओलम्पिकको विधाअनुसार छनोट प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको थियो । तर प्रतियोगिता हुनुभन्दा करिब २४ घण्टा अगाडि मात्र प्रतियोगितास्थल परिवर्तन गरिएको र छनोटको दिन बिहान मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्तक्रस कन्ट्री ओलम्पिक ट्रयाकको सट्टा छोटो दूरीको कोर्समा प्रतिस्पर्धा गराइने जानकारी दिइएको आरोप लगाइएको छ ।
उजुरीमा एउटै दिन करिब एक घण्टाको अन्तरालमा दुई पटक छनोट प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गर्दै यसले छनोट प्रक्रियाको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय साइक्लिङ महासंघका स्थापित मापदण्डअनुसार प्रतियोगिता बहु–ल्याप प्रणालीमा सञ्चालन हुनुपर्ने, प्रति ल्याप करिब ३.५ देखि ६ किलोमिटर दूरीको ट्र्याक हुनुपर्ने तथा प्रतियोगिताको स्वरूप अन्तिम समयमा परिवर्तन गर्न नहुने व्यवस्था रहेको छ ।
नाम नखुलाउने सर्तमा कुरा गरेका केही खेलाडीहरूले आफूहरू नेपालका लागि विगतमा एसियाली खेलकुद, विश्वस्तरीय च्याम्पियनसिप तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका अनुभवी खेलाडी भएको बताउँदै छनोट प्रक्रियाको विषयमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूमध्ये केही खेलाडी हाल पनि ओलम्पिक लक्षित प्रशिक्षण तथा अन्तर्राष्ट्रिय तयारी कार्यक्रममा आबद्ध रहेको जनाइएको छ ।
‘हामी कसले छनोट पायो वा पाएन भन्ने विषयमा होइनौं । नेपालको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्ने प्रक्रिया नै अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ भन्ने हाम्रो माग हो,’ खेलाडी भन्छन् ।
यसैबीच मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले पनि छनोट प्रक्रियामा गम्भीर त्रुटि देखिएको बताएका छन् । उनले नेपाली साइक्लिङलाई प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरमा सक्षम बनाउन निष्पक्ष, पारदर्शी र प्राविधिक आधारमा छनोट प्रक्रिया सञ्चालन हुनुपर्ने धारणा राख्दै आवश्यक परे पुनः छनोट प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए ।
नेपाली खेलकुदमा सुशासन, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डको पालनासम्बन्धी बहस चलिरहेका बेला यो विवादले खेलाडी छनोट प्रक्रियाको विश्वसनीयतामाथि पुनः प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले यस विषयमा कस्तो निर्णय गर्छन् भन्ने चासो खेलाडी समुदाय, खेल प्रशासक तथा खेलप्रेमीहरूमा बढ्दो छ ।

 

प्रकाशित मिति: असार ७ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend