Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भान्सा अस्वभाविक महँगो

हाम्रो कोशी आवाज
असार २७ २०८३, शनिबार
भान्सा अस्वभाविक महँगो

धरानः
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले नेपाली उपभोक्ताहरूको भान्छा झनै महँगो हुँदै गएको औल्याएको छ ।
विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को जेठ महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार अघिल्लो महिना वैशाखको तुलनामा जेठमा अत्यावश्यक खाद्यवस्तु र विशेष गरी तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।
विभागले देशका विभिन्न ६ वटा प्रमुख सहरहरूबाट संकलन गरेको तथ्यांकको विश्लेषण गर्दा समग्र बजारमा महँगीको मार न्यून र मध्यम आय भएका नागरिकमा प्रत्यक्ष रूपमा परेको देखिएको छ ।
विशेष गरी जेठ महिनामा हरियो तरकारी, चामल, अण्डा र फलफूलको मूल्यमा भएको वृद्धिले महँगीलाई नयाँ उचाइमा पुर्‍याएको छ । विभागको तथ्यांकअनुसार तरकारी बजारमा देखिएको उथलपुथल सबैभन्दा बढी चिन्ताजनक छ, जहाँ केही वस्तुको मूल्यमा २५० प्रतिशतभन्दा बढीको उछाल आएको छ ।
यसरी मूल्य बढ्नुमा केवल उत्पादनको कमी मात्र नभई बजारमा रहेका विचौलियाको दबदबा, उच्च ढुवानी लागत र अन्तर्राष्ट्रिय बजारको प्रभावसमेत मुख्य कारकका रूपमा देखिएका छन् ।
समग्रमा, जेठ महिनाको मूल्य विश्लेषण प्रतिवेदनले नेपाली बजारको एक निराशाजनक चित्र प्रस्तुत गरेको छ । जहाँ एकातिर उपभोक्ताको आय स्थिर छ, अर्कोतिर दैनिक उपभोग्य वस्तुको मूल्यमा दोहोरो अंकको वृद्धि भइरहेको छ ।
गोलभेडा जस्तो सामान्य वस्तुको मूल्यमा २५३ प्रतिशतको वृद्धि हुनु भनेको बजार पूर्णतः अनियन्त्रित हुनुको संकेत हो ।
सरकारले तथ्यांक संकलन र विश्लेषण गरेर मात्र पुग्दैन, बजारमा देखिएको यो ‘अराजक महँगी’ लाई नियन्त्रण गर्न ठोस र साहसी कदम चाल्नुपर्ने बेला आएको छ । विचौलियाको जालो नतोडेसम्म र ढुवानी लागत घटाउने गरी इन्धनको मूल्य समायोजन नगरेसम्म उपभोक्ताले महँगीबाट मुक्ति पाउने देखिँदैन ।
जेठ महिनाको यो महँगीले आगामी दिनहरू अझै कष्टकर हुने संकेत गरेको छ, जसका लागि सरकार र नियमनकारी निकायहरू गम्भीर हुन जरुरी छ ।
जेठ महिनामा डलरको भाउ सामान्य घटे पनि त्यसको लाभ उपभोक्तासम्म पुग्न नसक्नुले बजारको आपूर्ति शृङ्खलामा रहेको ‘ट्रान्सपरेन्सी’ (पारदर्शिता) को अभावलाई पनि छर्लङ्ग पारेको छ ।
अबको आवश्यकता भनेको अनुगमन मात्र होइन, बरु उत्पादनदेखि वितरणसम्मको बलियो र पारदर्शी सरकारी वा सहकारी संयन्त्रको विकास गर्नु हो, जसले निजी क्षेत्रको एकाधिकार र विचौलियाको शोषणबाट आम उपभोक्तालाई जोगाउन सकोस् ।
चामल, दाल र गेडागुडीजस्ता आधारभूत खाद्यान्नको मूल्य पनि जेठ महिनामा स्थिर रहन सकेन ।
विभागले विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौं उपत्यकाको मूल्य तुलना गर्दा काठमाडौँ सबैभन्दा महँगो सहरका रूपमा देखिएको छ ।
उदाहरणका लागि, जनरल सोना मन्सुली चामलको औसत मूल्य काठमाडौँमा प्रतिकिलो ९५ रुपैयाँ पुग्दा वीरगन्जमा ६० रुपैयाँ मात्र रहेको छ । यसले ढुवानी भाडा र बजार व्यवस्थापनमा रहेको ठूलो खाडललाई प्रष्ट पार्छ ।
दालजन्य वस्तुहरूमा मासको दाल र रहरको दालको मूल्यमा पनि वैशाखको तुलनामा वृद्धि भएको छ । प्रतिवेदनअनुसार पेट्रोलियम पदार्थको मूल्य अपेक्षाकृत रूपमा घट्न नसक्नु र बाह्य देशबाट हुने आयातमा निर्भर हुनुपर्ने बाध्यताले खाद्यान्नको मूल्य बढाएको हो । चामल र चिउराको मूल्यमा आएको सामान्य वृद्धिले पनि आम नागरिकको क्रयशक्तिमा प्रत्यक्ष असर पारेको छ ।
विभागले चिनी, तेल र पिठो जस्ता वस्तुको मूल्य भने केही हदसम्म स्थिर वा न्यून मात्रामा घटेको उल्लेख गरे तापनि अन्य मुख्य खाद्यवस्तुको मूल्य वृद्धिले त्यसलाई छायामा पारेको छ ।
विशेष गरी हरियो तरकारी र फलफूलको हकमा यो समस्या अझ विकराल छ । किसानले सस्तोमा बेच्नुपर्ने र उपभोक्ताले तेब्बर चौबर मूल्य तिर्नुपर्ने अवस्थाले बजार व्यवस्थापनमा सरकारी निकायको उपस्थिति कमजोर रहेको पुष्टि गर्दछ ।
प्रतिवेदनको अन्त्यमा विभागले मूल्य नियन्त्रण र उपभोक्ता संरक्षणका लागि केही महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ । सबैभन्दा पहिले बजारको तहगत संरचनालाई घटाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
किसानको उत्पादन सिधै उपभोक्ता वा सहकारीसम्म पुग्ने संयन्त्र विकास नगरेसम्म विचौलियाको अन्त्य नहुने र महँगी नघट्ने निष्कर्ष निकालिएको छ ।
त्यस्तै, आयातमा रहेको परनिर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने, बेमौसमी कृषि प्रणालीको विकास गर्नुपर्ने र खाद्यान्न भण्डारण क्षमतामा वृद्धि गर्नुपर्ने सुझाव दिइएको छ । प्रत्येक उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा अंकित गर्ने र त्यसको कडाइका साथ पालना गराउने हो भने पनि धेरै हदसम्म उपभोक्ता ठगिनबाट जोगिने प्रतिवेदनको ठम्याइ छ ।
पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावले सिर्जित महँगी रोक्न वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्ने र ढुवानीमा लाग्ने लागतलाई सहुलियतपूर्ण बनाउनुपर्ने विषयलाई पनि प्रतिवेदनले समेटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभावलाई कम गर्न ‘बफर स्टक’ को व्यवस्था गर्ने र बजार अनुगमनलाई मौसमी मात्र नबनाई नियमित, वैज्ञानिक र प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति: असार २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend