धरानः प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा यस्तो निर्देशन दिएका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. स्मृति कार्की, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र सहभागी थिए ।
प्रधानमन्त्री शाहले जलनका बिरामीले सहजरूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीचच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिएका थिए । प्रधानमन्त्रीको निर्देशनलाई जलन उपचार सेवाको पहुँच विस्तार, विशेषज्ञ उपचारको विकेन्द्रीकरण तथा सार्वजनिक अस्पतालको सेवा गुणस्तर सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।