धरानः विराटनगरबाट हिँडेको कार र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
झापाको गौरीगञ्ज–२ हुलाकी राजमार्गमा विराटनगरबाट जाँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ रतुवामाई–५ गोविन्दपुर बस्ने ३० वर्षीय नुर स्लाम र मोटरसाइकल पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक रहेका छन् ।
चालक स्लामको टाउको, योनाङ, दुवै हात र दुवै खुट्टामा चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्था र पछाडि सवार हकको खुट्टा साथै शरीरको विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने गम्भीर अवस्थामा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालक मोरङ विराटनगर–१३ बस्ने ३५ वर्षीय विवेक सिंह इप्रका गौरीगञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले सिंहलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । कार र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकलको चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाकै शिवसताक्षी–११ झिलझिले सतासीधामस्थित भित्री पक्की सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शिवसताक्षी–११ शेर्माटोल बस्ने १६ वर्षीय रुविन राई नाक र मुखबाट रगत बगी बायाँ खुट्टाको औंलाको भागमा चोट लागेर अचेत अवस्थामा स्थानीय १६ वर्षीय ईश्वर राई र सोही स्थानका १५ वर्षीय लाबाहाङ् लिम्बूले देखेपछि को३८प ९५७ नम्बरको मोटरसाइकलमा उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुरयाएको र उपचारको क्रममा तत्काल डाक्टरले मृत घोषणा गरेको प्रसनि रविभुषण यादवले जानकारी दिए ।
सो घटनाबारे थप अनुसन्धान गर्दा झापा शिवसताक्षी–११ रमिते डाँडास्थित भित्री पक्की सडक खण्डमा रमिते डाँडावाट भुपु सैनिक टोलतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ६०६४ नम्बरको १६० सिसीको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको र मोसा चालक मृतक रुविन राई रहेको र पछाडि सवार १६ वर्षीय पुजन अधिकारी रहेको र समयमै साथमै गएको को३६प ९५७ नम्बरको मोटरसाइकल चालक पक्राउ ब्यक्ति मृतकको साथी लावाहाङ लिम्बु भन्ने वर्ष १५ को लालबहादुर लिम्बू, पछाडि सवार १५ वर्षीय विशाल तामाङ र इश्वर राई समेत रहेकोले चारजनालाई पक्राउ गरी इप्रका झिलझिलेमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसैबीच झापामा एक वर्षमा सवारी दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०८२–०८३ मा झापामा जम्मा २ हजार १९७ वटा दुर्घटना हुँदा त्यति धेरैको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।