धरानः सुनसरीमा पैदल हिँडिरहेका युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
इनरूवा नगरपालिका वडा नं. ४ बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवा सुनसरीबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका पैदलयात्रीलाई समातेको हो ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाँउपालिका वडा नं.९ बस्ने ३१ वर्षीय निरज माले र ३० वर्षीय दीपेश नेपाली रहेका छन् । शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजहरूको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.०८ ग्राम, ट्रमाडोल– ५३० क्याप्सुल र नाइट्राजेपाम–१० ट्याब्लेट फेला परेको हुँदा निजहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनँएको छ ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरसपालिका वडा नं. ५ तुलसा टोलबाट पनि प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले पदैल हिडिरहेको अवस्थामा २३ वर्षीय बसन्त खत्रीलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर ०.३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनलाई नगद ४ हजार ९३५ सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।