Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्तिम बिलमा घुस लिएको भन्दै इन्जिनियर सुमन राईसहित तीनजनाविरुद्ध मुद्दा दायर

हाम्रो कोशी आवाज
असोज ५ २०८३, सोमबार
अन्तिम बिलमा घुस लिएको भन्दै इन्जिनियर सुमन राईसहित तीनजनाविरुद्ध मुद्दा दायर

धरानः विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्राविधिक तथा कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।
उनीहरूले भोजपुर जिल्लास्थित एक विद्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न प्राविधिक समस्या देखाई दुःख–हैरानी दिँदै घूस माग गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
उक्त घूस रकम तीनैजना मिलेर बाँडीचुँडी खाने पूर्वयोजना अनुसार सेवाग्राहीबाट लिइएको अख्तियारले जनाएको छ। जसअनुसार सब–इन्जिनियर रविन श्रेष्ठको बैंक खाताको क्यूआर कोडमार्फत ५० हजार रुपैयाँ दाखिला गर्न लगाइएको थियो भने बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर सुमन राईले नगदै बुझेका थिए। सेवाग्राहीको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट ८५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा र अन्य दुई कर्मचारीलाई धनकुटा तथा भोजपुरबाट नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पदीय जिम्मेवारीको दुरुपयोग गर्दै घूस लेनदेनमा संलग्न देखिएका इन्जिनियर राई, लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गरिएको छ। अख्तियारले तीनैजना प्रतिवादीसँग जनही १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको उनले बताए ।

प्रकाशित मिति: असोज ५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend