Hamro Koshi Aawaj

बुधबार, मंसिर २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः सशस्त्र प्रहरी फाइनलमा

हाम्रो कोशी आवाज
मंसिर २ २०८३, बुधबार
धरानमा अन्तर्राष्ट्रिय महिला फुटबलः सशस्त्र प्रहरी फाइनलमा

धरानः विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनलमा प्रवेश गरेको छ ।
धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आर्मीलाई २–० गोलले पराजित गर्दै एपीएफले उपाधि यात्रा तय गरेको हो ।
एपीएफको जीतमा जर्सी नम्बर ११ की अनिता बस्नेत र जर्सी नम्बर १२ की गीता रानाले गोल गर्दै टोलीलाई उपाधिनजिक पुरयाएका हुन् ।
खेलको पहिलो हाफको १० औं मिनेटमा अनिता बस्नेतले उत्कृष्ट गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाइन् । त्यसपछि पहिलो हाफकै ४३ औं मिनेटमा गीता रानाले थप एक गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । बाँकी समयमा आर्मीले गोल फर्काउन सकेन ।
एपीएफले प्रतियोगितामा शुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको छ । क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपीएफले सेमिफाइनल यात्रा तय गरेको थियो । सो खेलमा पूर्णिमा राईले चार गोल गरेकी थिइन् ।
त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपीएफसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो । सो खेलमा दीपा शाहीले चार गोल र जेनिफर रानाले ह्याट्रिक गरेकी थिइन्।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि भिड्नेछ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी जर्सी नम्बर १२ की गीता राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद पाँच लाख रुपैयाँ र उपबिजेताले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रममा फुटबलप्रेमी दर्शकहरू खचाखच भरिएका थिए । कार्यक्रममा गोलकिपर अञ्जना राना मगर ५० हजार रुपैयाँ नगदसहित सम्मानित भइन् ।

प्रकाशित मिति: मंसिर २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend