धरानः धरानमा जारी प्रथम ‘धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत भइरहेको खेलकुदका गतिविधिको बुधबारदेखि तस्वीर खिच्न रोक लगाइएको छ ।
खेल भइरहेको स्थानमा बुधबारदेखि पत्रकारलाई रोक लगाइएको डी–१९ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सन्तोष राईले बताए । ‘खासमा हामीले काठमाडौं र चितवनका दुई मिडिया हाउससँग मात्रै हामीले डिल गरेर ल्याएका हौं र तस्वीर खिच्ने अनुमति दिएका छौं,’ उनले भने, ‘अरु स्थानीयस्तरका केही मिडियालाई खिच्न नदिने भन्ने माथिको आदेश छ ।’ उनले बुधबारदेखि भित्र प्रवेश गरेर तस्वीर खिच्न नपाउने नियम क्लबले बनाएको बताए । मैदानमा खेल खेलिरहेको तस्वीर खिच्न नपाइने नियम बनाइएको अध्यक्ष राईले बताए । उनले शुक्रबार र शनिबार हुने फाइनल खेलका कुनैपनि तस्वीर लिन नपाइने नियम बनाइएको बताए । ‘यो सबै माथिको आदेशबाट हो’, उनले भने, ‘माथिको आदेश भनेको के हो भन्नेबारेमा उनले थप खुवाउन चाहेनन् ।’
अहिले चितवनदेखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई ल्याएर धरानका स्थानीय पत्रकारलाई ‘बाइपास’ गरेको चर्चा हुँदै आएको छ । कतिपय पत्रकारले धरानको विकासको लागि खेलकुद भएको हुनाले यस विषयमा ‘चुप’ लागेको समेत बताएका थिए । पत्रकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले चाहिँ फोटो खिच्न हुने भन्दै आयोजकलाई प्रश्न समेत गरेका थिए । दर्ता नभएका मिडियाकर्मीलाई भने तस्वीर खिच्न दिइएको थियो ।