Hamro Koshi Aawaj

बुधबार, मंसिर २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बराहका अध्यक्ष सुनसरीबाटै समातिए

हाम्रो कोशी आवाज
मंसिर २ २०८३, बुधबार
धरानको बराहका अध्यक्ष सुनसरीबाटै समातिए

धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले लामिछानेलाई कोशी प्रदेशबाटै पक्राउ गरिएको बताए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको उनले जानकारी दिए । ‘भारतीय सीमावर्ती क्षेत्रमै उनी लुकिछिपी बसेको अवस्थामा फेला पारेका हौं’, उनले भने, ‘मुद्दा दर्ता भइसकेको छ, अनुसन्धान गरेर अदालतमा बुझाउँछौं साथै सम्पत्ति शुद्धिकरण मुद्दामा पनि अनुसन्धान अघि बढाएका छौं ।’
सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २ सय ६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा दायर भएको र सोहीअनुसार मुद्दा अघि बढाइएको उनले बताए ।
बराह सहकारी तथा बराह ग्रुपले सर्वसाधारण बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेपछि धरान उपमहानगरले २२ भदौ २०८२ मा समस्याग्रस्त घोषणा गरेको थियो ।
लामिछानेले प्रहरी अधिकारीसमक्ष आफू २०६९ फागुन २६ गते विशेष साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएको बताएका छन् । उनले आफूले २०७९ साल मंसिर १९ गते नै अध्यक्ष पद छाडेको बताएका छन् । लामिछानेले रकम अपचलन गरेको भन्दै यसअघि नै सहकारीका बचतकर्ताहरुले आन्दोलन गरेका थिए । कानुनी रुपमा मानबहादुर दियाली नाम गरेका व्यक्तिलाई अध्यक्ष बनाइएको भएपनि सहकारीको बचत रकम हिनामिनाका मुख्य योजनाकार लामिछाने नै हुन् ।
५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिना गरेको प्रहरीको दाबी छ । संस्थाका अध्यक्ष सहित सञ्चालक फरार भएपछि रकम फिर्ताको माग राख्दै पीडितहरूले उजुरी दिएका थिए । उजुरीपछि सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो ।
प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ । बचतकर्ताको रकममध्ये सबैभन्दा हिनामिना लामिछानेले गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ । जसमा शिवकुमारले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिना गरेको प्रहरीको दाबी छ ।
उता अध्यक्ष लामिछानेले भने बराह सहकारी र बराह ग्रुप अस्तव्यस्त हुनुमा विशेषत संस्थाभित्रकै केही गैरजिम्मेवार तथा खराब नियत भएका व्यक्तिका गलत गतिविधि, संरचनागत कमजोरीको संयुक्त प्रभावका कारण समस्या उत्पन्न भएको दाबी गर्दै आएका छन् । उनले यसअघि अपिल जारी गर्दै बराह समूहसँग सम्बन्धित विभिन्न व्यावसायिक इकाइमा रहेका मूल्यवान सम्पत्तिहरू जस्तै सुन, चाँदी, हिरा–मोती, सवारीसाधन तथा अन्य सामग्री केही व्यक्तिद्वारा अवैधानिक रूपमा कब्जामा राखिएको पनि बताउँदै आएका छन् । सहकारीका संस्थाका संचालक/अध्यक्षलगायतका पदाधिकारीहरू, कर्मचारीहरूसमेतको मिलेमतोमा सहकारीका शेयर सदस्य तथा बचतकर्ताहरूको ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गर्दै धरान ९ का शंकर थापा क्षेत्रीसमेत गरी ४ हजार १६८ जनाले यसअघि नै किटानी जाहेरी दिएका थिए । यसअघि उक्त सहकारीमा डुबेको अर्बौँ रकम फिर्ता गराउने पहल गरिदिन माग गर्दै पीडित बचतकर्ताहरू संघीय राजधानी काठमाडौँ पुगेर रास्वपा सभापति रवि लामिछानेलाई समेत भेटेका थिए ।
सहकारीको कारोबार भने २०७९ जेठ २३ गतेबाट बन्द छ ।
२०५२ सालमा लामिछाने परिवारले सुरु गरेको बराह सुनचाँदी व्यवसाय २०६५ मा बराह सहकारी र बराह ग्रुप अन्तर्गत सुनचाँदी व्यवसाय, सुपरमार्केट (श्रीपा सुपरमार्केट), बराह कम्प्लेक्स, बराह ज्वेलर्स प्रालि, बराह ट्राभल्स एन्ड टुर्स प्रालि, चितवनको नारायणी बराह ज्वेलर्स कम्प्लेक्स, पोखराको गोरखा एन्ड बराह ज्वेलर्स, पाटन इन्डस्ट्रिज लगायत छन् ।

प्रकाशित मिति: मंसिर २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend