Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज परीक्षा सकिएपछि स्कुल बन्द, एसइई नियमित, तीन हप्तासम्म विद्यार्थीलाई स्कुल नबोलाइदिनुहोस् है !

हाम्रो कोशी आवाज
चैत्र ५ २०७६, बुधबार
आज परीक्षा सकिएपछि स्कुल बन्द, एसइई नियमित, तीन हप्तासम्म विद्यार्थीलाई स्कुल नबोलाइदिनुहोस् है !

धरानः शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै तीन हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू भन्दै अपिल गरेको छ ।
चैत्र ६ गते देखि तीन हप्तासम्म अन्य बालबालिकालाई घरैमा राख्न र बस्न अपिल गरेका छन् । तीनहप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरु घर परिवारमा नै रहनेछन् ।
कक्षा १ देखि ९ सम्मको परीक्षा आज सकिँदैछ । कोरोना भाइरसका कारण विद्यालयको परीक्षा अगाडि सारिएको थियो । २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत ६ गतेदेखि १७ गतेसम्म हुने भएकाले कसैलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा जानकारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् । ‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौं’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकासन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।’
संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि बिद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गरिएको छ ।
आगामी बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै एसईईको सम्पूर्ण तयारी सकिएको हुनाले उच्च सर्तकताका साथ परीक्षा सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
चैत्र ६ गतेदेखि १७ गते सम्म सञ्चालन हुने एसईईमा देशभरका १ हजार ९९५ परीक्षा केन्द्रमा कुल ४ लाख ८२ हजार २१९ छात्रछात्राले परीक्षा दिँदै छन् । परीक्षा सञ्चालनका सबै तयारी पुरा भै सकेको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको हुसनाले एसईई सञ्चालन गर्न लागिएको सो अपीलमा उल्लेख गरिएको छ ।
यतिवेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसईई परीक्षालाई मनोवैज्ञानिक एवम् त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पुरा गर्नुपर्ने स्थिति छ । विद्यार्थीहरुलाई साबुन प्रयोग गरी हात धुने,मास्कको प्रयोग गर्ने, अरुसँग हात नमिलाउने, सकभर भीडभाडमा नजाने लगायतका व्यक्तिगत सुरक्षाका तरीका अपनाउन समेत आग्रह गरिएको छ । अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्नुहुन सबै अभिभावकहरु र परीक्षा केन्द्रका आसपासमा रहेका स्थानीयलाई आग्रह गरिएको छ । यस सन्दर्भमा सोको अनुगमन र सहजीकरणको लागि स्थानीय तह र स्थानीय प्रशासनलाई मन्त्री पोखरेलले आग्रह गरेका छन् । 

प्रकाशित मिति: चैत्र ५ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend