Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुल, कलेज चैत मसान्तसम्म बन्द गर्ने सरकारी निर्णय, भयभित र त्रसित नभइ एसइई दिन आग्रह

हाम्रो कोशी आवाज
चैत्र ५ २०७६, बुधबार
स्कुल, कलेज चैत मसान्तसम्म बन्द गर्ने सरकारी निर्णय, भयभित र त्रसित नभइ एसइई दिन आग्रह

धरानः सरकारले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसन्तसम्मका लागि बन्द गर्ने निर्णग गरेको छ । बालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) जारी राख्दै स्कुल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो ।
‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्यक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेक्स स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने। तर, बालबिकास केन्द्र, अधारभूत तथा माध्यामिक विद्यालयहरु, विश्वसिवद्यालयहरुका पठनपाठनहरु २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने’, सरकारको निर्णयमा उल्लेख छ ।
विश्वभर कोरोना भाइरस (कोभिड १९)को प्रकोप फैलिएपछि सरकारले त्यसको रोकथामका लागि यस्तो कदम चालेको हो । यसअघि नै कोरोनाबाट पूर्वसावधानी अपनाउनका लागि शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग उठ्दै आएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै परीक्षा सकेका विद्यार्थीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका थिए ।
इतिहासको विरासत बोकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले विशेष परिस्थितिका बाबजुद भोलि देखि सञ्चालन गर्दै छ । विश्वका धरै देशमा यसको संक्रमण फैलिरहेको अवस्था रहेतापनि नेपालमा हालसम्म कोही कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको हुँदा अनावश्यक हल्ला र अफवाहको पछाडि नलागी भयभित र त्रसित नभइ परीक्षामा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई परीक्षा बोर्डले आग्रह गरेको छ ।
विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहयता प्रदान गर्न सबै परीक्षा केन्द्रहरुमा परीक्षा अवधीभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सम्बन्धित निकायमा अनुरोध गरिसकिएको हुनाले भयरहित वातावरणमा परीक्षा दिन बोर्डले परीक्षार्थीलाई आज एक विज्ञप्ति जारी गरी आग्रह गरेको हो । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन हुन गइरहेकोले यो विषम परिस्थितिमा आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न विद्यार्थी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, पर्यवेक्षक, कर्मचारी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरु बोर्डले अनुरोध समेत गरेको छ ।
साथै, व्यक्तिगत सुरक्षाका तरीका अपनाउन र परीक्षा केन्द्र परिसरमा अनावश्यक भीडभाड नगर्न समेत सबैमा अनुरोध गर्दै बोर्डले परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु, तीनका अभिभावकहरु र परीक्षा सञ्चालनको जिम्मेवारी वहन गर्नसमेत बोर्डले आग्रह गरेको छ ।
चैत्र ६ गतेदेखि सुरु हुने सो परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । जसमध्ये २ लाख ३९ हजार ९१ जना छात्र र २ लाख ४३ हजार ६ सय १६ जना छात्रा रहेका छन् ।

प्रकाशित मिति: चैत्र ५ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend