Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सरकारीमा राम्रो पढाइ हुँदैन भन्नेहरूका लागि झापड बनेको पब्लिकले शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाउने, दुईवटा बसमा विद्यार्थी सरर, विद्यालयमै खाजा

हाम्रो कोशी आवाज
चैत्र ५ २०७६, बुधबार
धरानमा सरकारीमा राम्रो पढाइ हुँदैन भन्नेहरूका लागि झापड बनेको पब्लिकले शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाउने, दुईवटा बसमा विद्यार्थी सरर, विद्यालयमै खाजा

धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले यस शैक्षिक सत्रदेखि कक्षा-९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालिने भएको छ ।
विद्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिशु कक्षादेखि कक्षा–९ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।
कक्षा ६ देखि ९ सम्मको अंग्रेजी मिडियमको कक्षा बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने र कक्षा १ देखि ५ सम्म अनिवार्य दिउँसो ९ बजेदेखि अंग्रजी मिडियममा पढाइ हुने प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । विहानको कक्षामा कक्षा–११ र १२ र दिउँसोको कक्षामा नेपाली मिडियममा कक्षा ७ देखि कक्षा १० सम्म अंगे्रजीमा पठनपाठन हुने प्रधानाध्यापक झाले बताए । ‘धरानका बोर्डिङ स्कुलको जस्तै शिक्षा दिन खोजिएको छ, निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुछ’, उनले भने, ‘त्यही भएर पनि शैक्षिक सत्रदेखि अंग्रेजी माध्यम थालिने भएको हो ।’
विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दैै विद्यालयले २ वटा बस सेवा समेत सञ्चालन गरेको छ । ‘पहिला नै एउटा बस ल्याइएको थियो तर विद्यार्थीको माग पूरा गर्न सकिएन, फेरि भर्खरै अर्को बस थपेका छौं’, उनले भने । १९ सय विद्यार्थी संख्या रहेको विद्यालयमा ४ सय जनाले बसको यातायात सेवा लिँदै आएका छन् ।
कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरुका लागि स्वस्थ्यकर खाजा पनि खुवाउने समेत निर्णय गरेको व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताए । पुरानो विद्यालय पब्लिक सुनसरीको नमूना विद्यालयको रुपमा घोषित भइसकेको छ ।सरकारले हरेक स्थानीय निकायमा एउटा नमूना विद्यालय विकास गर्ने योजना बनाएको थियो । स्थानीय निकायका १०० वटा कोटामध्ये पब्लिक पनि नमूना विद्यालयमा परेको हो । विद्यालयहरूको सक्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तीब्रता दिने उद्देश्यले सरकारले यस्तो योजना ल्याएको हो । यो विद्यालय सरकारीमा राम्रो पढाइ हुँदैन भन्नेहरूका लागि झापड बन्दै नमूना समेत बन्दै गएको छ ।

जहाँ १९ सय विद्यार्थी अध्ययनरत् छन्
पब्लिकमै करिब १९ सय विद्यार्थी अध्ययनरत् छन् । धरानमै सरकारी विद्यालयबाट विज्ञान सङ्काय पाएको विद्यालयमा म्यानेजमेण्ट, व्यवस्थापन, शिक्षा, इलेक्ट्रिकल इञ्जिनियरलगायतको पढाइ हुने गरेको छ ।
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने अभिभावकहरुको बुझाइ रहेको पाइन्छ तर पब्लिकले प्रविधिमा फड्को मार्दै गुणस्तरीय शिक्षा प्रदान गर्न तल्लिन रहेको छ ।
कक्षा–१ देखि १० सम्म गणित, नेपाली, विज्ञान विषयको पढाइ प्रोजेक्टरबाट अडियो, भिज्योल कक्षा हुने गर्दछ । विद्यार्थीहरुको सुविधाका लागि यथेष्ट मात्रामा कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप आदिको व्यवस्था छ । सिसी टिभी जडान भएको विद्यालय निजी विद्यालयभन्दा कम छैन । पढाइप्रति विद्यार्थी र अभिभावकहरू खुशी र पूर्णरूपमा सन्तुष्ट छन् । २०६३ सालबाट प्लस टुको पढाइ शुरु भएको पब्लिकमा सरकारी कोटामा कक्षा-९ देखि नै इलेक्ट्रीकल इञ्जिनिरिङको अध्ययन अध्यापन हुन्छ ।

प्रकाशित मिति: चैत्र ५ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend