धरानः अन्ततः सीमानाबारे गीत र भिडियो बनेको छ । ‘जाइ कहिल्यै लाग्दैन, आए बाँकी राख्दैन’ बोलमा सीमानाबारे गीत र भिडियो बनाएका हुन् ।
भिडियोमा अधिकांश पूर्वका कलाकारले अभिनय गरेका छन् । जाइ कहिले लाग्दैन, आए बाँकी राख्दैन, न त कहिले हेपिन्छ, हेप्न पनि जान्दैन, सिंह जस्तै गर्जेर अघि बढछ नेपाली, असिम एकता बनाइ अघि बढ्छ नेपाली’ भन्ने बोलको गीतको भिडियोमार्फत् साङ्केतिकरूपमा सीमा विवादसम्बन्धी आफ्नो प्रतिक्रिया प्रस्तुत गरेको छ ।
टेक तामाङको रचना, भूपेन्द्र रायमाझीको सङ्गीत, सुमित खड्का, प्रवलदीप विश्वास स्वर रहेको गीतको भिडियोमा प्रेम सुब्बा, धिरेन्द्र प्रेमर्षी, विक्रमश्रि, रवीन्द्र झा, सुवास थापा, सीताराम पोख्रेल, सुरेन्द्र तामाङ, कृष्ण शिवाकोटी, प्रदीप दाहाल, भाइसन बर्देवा, डा. विनोद श्रेष्ठ, दिनेश कोइराला, हिमाल दाहाल, विजय सुब्बा, नवीन मेन्याङ्वो, रमेश कटुवाल, अशेष तिमल्सिना, श्रीराम माझी, विष्णु राजवंशी, जयनारायण राजवंशी, अङ्कीत राजवंशी, अङ्गत राजवंशी, लवकुमार राजवंशी, सुमित खड्का, प्रवलदीप विश्वास, अरुण प्रधानलगायतको अभिनय रहेको छ ।
विजय सुब्बा, राजीव दाहाल (धरान), जगदीश कार्की (इटहरी), यज्ञ पराजुली, किशन राजवंशी (विराटनगर), सागर नेपाल (बेलायत) को छायाङ्कनमा बनेको भिडियोको सम्पादन प्रवलदीप विश्वासले गरेका हुन् । अरुण प्रधानको निर्देशनमा बनेको भिडियोको डिजाइन अरविन्द विश्वास, स्पार्क एडभरटाइजिङ, काठमाडौंले गरेको हो ।
‘नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सबै तिरबाट विभिन्न खाले प्रतिक्रियाहरु आइरहेको छ । भरतमा रहेकी नेपाली अभिनेत्री मनिषा कोइरालाको ट्वीट पछि उनीमाथि खनिएका भारतीय मिडियाको विरोधमा र आफ्नो मातृभूमीको पक्षमा नेपाली कलाकारहरु पनि कडारूपमा प्रस्तुत हुँदै आइरहेका छन् । पछिल्लो समय आफ्नो अभिव्यक्तिको कारण आलोचित हुन पुगेकी वर्षा राउतदेखि राजेश हमाल, निखिल उप्रेती, निता ढुंगाना लगायत धेरै कलाकारहरुको प्रतिक्रिया आइसकेको छ । यही प्रतिक्रियालाई एउटा फरक ढङ्गबाट प्रस्तुत गर्ने जमर्को गरेको छ चलचित्रकर्मी महासंघ प्रदेश न १ का निर्देशक तथा कलाकारहरूबाट ।’ निर्देशक अरुण भन्छन् ।
भिडियोमा नक्सा सार्वजनिक भएपछि उत्पन्न भएको विवाद अनि राष्ट्रको लागि आफूहरु ज्यानको बाजी राखेर पनि अघि बढ्न सक्ने तर हामी शान्ति चाहन्छौ्र भन्दै सन्देश दिन खोजेको छ । महासंघका अध्यक्ष समेत रहेका निर्देशक प्रधानले लकडाउनको समयमा आ–आफ्नो ठाउँमा नै बसेर छायाङ्कन भएको यस गीतमा अनलाइनमार्फत् नै निर्देशन गरेका थिए ।