Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

असारबाट सबै विद्यालयमा यसरी हुँदैछ पठनपाठन !

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
असारबाट सबै विद्यालयमा यसरी हुँदैछ पठनपाठन !

धरानः अब विद्यालय तहको पढाइ सुचारु हुने भएको छ । १ असारबाट सरकारले पठनपाठन शुरु गर्न आव्हान गरेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गरेका हुन् । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा सरोकारवालाहरुलाई आवन गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय नखुल्ने भन्दै बालबालिकालाई घरमै सिक्ने वातावरण बनाउन लागिपरेको जनाएको छ । शिक्षामन्त्री पोखरेलले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीज्यूको जेठ १२ को सम्बोधन र निर्देशनलाई ध्यान दिँदै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जनाएका हुन् ।
शिक्षा क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई सुचारु गर्नका निम्ति विभिन्न माध्यम अवलम्बन गरी विद्यार्थीलाई घरमै सिक्ने वातावरण बनाउन सरकार लागि परेको भन्दै शिक्षामन्त्री पोखरेलले यसलाई सफल पार्न सम्बद्ध सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेलिदिनु आग्रह गरेका छन् ।
लामो समयसम्म पढाइ अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नु अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ जारी गरिएको शिक्षामन्त्रीले स्पष्ट पारेका छन् ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार मात्र शैक्षिक संस्था पुनः सञ्चालन हुने उनले स्पष्ट पारेका छन् ।
विद्यालय तथा शैक्षिक संस्था तत्काल खोल्न अनुमति नदिइएपछि दुर शिक्षा तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्न सकिने मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन् । ‘विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जनना गर्नका लागि दुर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको छ,’ मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘सो निर्देशिकालाई यही २०७७ साल आषढ १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेशर स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।’
यसैगरी विज्ञप्तिमा कोभिड १९ को महामारीको कारणले स्थगन भएका विद्यालय तहका परीक्षाहरुका सम्बन्धमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिपरहेको समेत जानकारी दिएका छन् । योसँगै कतिपय निजी विद्यालयहरुले अनलाइन तथा दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउँदै आएकोमा निरन्तरता पाउने भएको छ ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend