Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इन्टरनेट कुलत डरलाग्दो

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७७, शनिबार
इन्टरनेट कुलत डरलाग्दो

इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ । यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ । यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ ।
अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ ।
साँच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिङ) गरिरहेको छ । मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ ।
अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ । यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिङ’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छ ।

अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’
उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ । यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौं । यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ ।
विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ ।
डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ ।’ अभिभावकहरूले बच्चाहरूको अन्य महत्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिरया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ ।
यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गइरहेको छ । ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ ।
यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ ।
स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गथ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस् ।

प्रकाशित मिति: जेष्ठ २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend