धरानः प्रदेश १ सरकारले आव २०७७–७८ को बजेट वक्तव्य प्रस्तुत गरेक छ । सरकारले गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभरुपमा ऋण उपलब्ध गराउने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा भनिएको छ–गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभरुपमा ऋण उपलब्ध गराउने उद्देश्यले स्थापित जनता चिकित्सा शिक्षा कोषलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु । यो कार्यक्रमलाई प्रदेशका सबै स्थानीय तहबाट एक एक जना चिकित्सक उत्पादन नभएसम्म निरन्तरता दिइनेछ । उनले समग्र शिक्षा क्षेत्रका लागि एक अर्ब २८ करोड रुपैयाँ बजेट प्रस्ताव गरेको बताए ।
मन्त्री आङ्बोले पेश गरेका शिक्षासम्बन्धी अन्य बजेट यस्तो छ
प्राविधिक जनशक्ति विकासको महत्वपूर्ण साधन हो । मानव संशाधनको प्रक्षेपण गरी आवश्यक जनशक्ति उत्पादन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि १६ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु । मदन भण्डारी प्रौद्योगिक महाविद्यालयलाई सेवा विस्तार गर्न एक करोड रुपियाँ विनियोजन गरेको छु ।
उच्च पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बुमा मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसहरु सञ्चालन गर्न सुरु गर्न पाँच करोड रुपियाँ विनियोजन गरेको छु ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कायृक्रम सहित प्राविधिक शिक्षालयहरु रत्नकुमार वान्तवा प्राविधिक शिक्षालय इलाम, शैलजा आचार्य प्राविधिक शिक्षालय मोरङ, उत्तरपानी प्राविधिक शिक्षालय धनकुटा, सुम्निमा प्राविधिक शिक्षालय भोजपुर र मौरेगढी प्राविधिक शिक्षालय खोटाङलाई अनुदान उपलब्ध गराउन ३८ करोड ६९ लाख रुपियाँ विनियोजन गरेको छु ।
शिक्षालाई सुचना, सञ्चार र प्रविधियुक्त बनाइ शैक्षिक गुणस्तर सुधारमा जोड दिइनेछ । विद्यालय गुणस्तर सुधार अभियान सञ्चालनका लागि १७ करोड रुपियाँ विनियोजन गरेको छु । विद्यालयमा नर्सिङ सेवालाई थप विस्तार गर्न दुई करोड रुपियाँ छुट्याएको छु ।
प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराउन चार करोड ५० लाख रुपियाँको व्यवस्था गरेको छु ।
धनकुटामा निजामति कर्मचारी आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिइनेछ । सम्भाव्यताको आधारमा प्रदेशमा सरकारी नमुना आवासीय विद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गर्न एक करोड रुपियाँ विनियोजन गरेको छु ।
उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्नका लागि महिला तथा विपन्न विद्यार्थी छात्रवृत्ति कार्यत्रम सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरेको छु ।
विद्यार्थी भर्ना अभियानलाई सशक्त बनाइ आगामी दुई वर्षमा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनेछ । यसका लागि दलित, सीमान्तकृत समुदाय र दुर्गम क्षेक्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यत्रम सञ्चालन गर्ने व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा र पहाडका आठ जिल्लाका सामुदायिक विद्यालयका बालबालिकालाई टिफिल बट्टा उपलब्ध गराउने कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
प्रारम्भिक बाल विकास केन्द्रका बाल शिक्षिकाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्न पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेको छु ।
युवा वैज्ञानिकहरुले गर्ने खोज अनुसन्धानको निम्ति युवा आविष्कार कोषको व्यवस्था गरेको छु । युवा उद्यमी र युवा आविष्कारलाई प्रोत्साह गर्न मदन भण्डारी मानव संशाधन कोष स्थापना गरिनेछ । यसका लागि एक करोड रुपियाँ विनियोजन गरेको छु ।