Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाको हल्दीबारीमा मुक्का प्रहार, टेबल, कुर्सी भाँचिए

हाम्रो कोशी आवाज
असार ११ २०७७, बिहिबार
झापाको हल्दीबारीमा मुक्का प्रहार, टेबल, कुर्सी भाँचिए

बिर्तामोडः झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्देनलाई मुक्का प्रहार गरेका हुन् ।
उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।
गाउँपालिकाको पाँचौँ गाउँसभामा तोडफोड भएको हो । सडक नामकरणको विषयमा उत्पन्न विवादमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ताहरूले गाउँसभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउ गर्दै तोडफोड गरेको बताइएको छ ।
सोही क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका गाउँपालिका उपाध्यक्ष गंगाप्रसाद प्रसाईँ र राप्रपा वडा नम्बर २ का अध्यक्ष भीमराज फियाक रहेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तोडफोडबाट गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ । गाउँपालिकाका अध्यक्ष लिङ्देनले समेत कुर्सी तोडफोड गरेको बताइएको छ ।
अध्यक्ष लिङ्देनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।
उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।
विवाद भएपछि अध्यक्ष लिङ्देन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ ।
कसरी भयो घटना ?
साविक जलथल गाविस हाल हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीच विवाद शुरु भएको थियो । सो सडकको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्व. द्रोणाचार्य क्षेत्री राख्नुपर्ने बताउँदै आएकोमा नेपाली कांग्रेस र राप्रपाले स्व. केशवकुमार कन्दङ्वा राख्नुपर्ने अडान लिएका थिए । सडक नामकरणको विषयमा विवाद उत्पन्न भएपछि जेठ ८ गते गाउँपालिकाको कार्यपालिकाको बैठकले जेठ ८ गते गाउँ सभाबाटै नामकरण टुंगो लगाउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बुधवार दिउँसो गाउँ सभा शुरु भएको थियो ।
गाउँसभा शुरु भए लगत्तै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापनपत्र बुझाउन गाउँपालिका पुगेका थिए । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुति सकिएपछि कांग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रवीन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङ्देनले ज्ञापनपत्र बुझन मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए । ज्ञापनपत्र नलिएको भन्दै नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरू सभा बिथोल्दै एक्कासी तोडफोडमा उत्रिएका थिए । गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति: असार ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend