धरानः आकांक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ ।
सिर्जनशील नेपाल धरान–६ को सभाहलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरूमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो ।
तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सिर्जनशिल कामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सिर्जना, अवसरको विश्लेषण, स्रोत व्यवस्थापन, बजारको खोजीसम्बन्धी विषयमा तालिम केन्द्रित रहेको थियो ।
महिला विकासमा प्रभाव पर्ने मुख्यकुरा सम्पत्ति र निर्णायक तहमा महिलाको पहुँच रहेको विषयलाई प्रशिक्षकहरूले जोड दिएका थिए । समाज र परिवारको अभिन्न अंगको रूपमा रहेको महिलाहरुको विकासमा उद्यमशिलता तालमले महत्वपूर्ण प्रभाव पर्ने र महिलाभित्र अन्तरनिहीत सम्भावना उजागर हुने कुरा आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताए ।
तालिममा सहभागी हुँदा हरेक कामलाई कसरी उत्पादनमुलक र आयमुलक बनाउन सकिन्छ भनेर तालिमले आफुहरूलाई सोच्न सक्ने बनाएको सृजनशिल नेपालकी सचिव सरस्वती बस्नेतले बताए । आफ्नो घर र समुदायभित्र रहेको अवस्थालाई विश्लेषण गरेर नयाँ व्यवसाय सिर्जना गर्न आफुहरु प्रेरित रहेको सहभागी राम विष्टले बताए । सृजनशिल नेपाल धरान ६ का २५ जना सहभागी भएका थिए । तालिमको सहजीकरण मोहन श्रेष्ठ र अर्चना ढकाल र विष्णु बरालले गरेका थिए ।

