अनलाइन हिंसाका सन्दर्भमा पीडित महिलामाथि हुने ‘ब्लेमिङ’ बारे सोसल मिडियामा प्रशस्त लेखियो, बोलियो । तर आज आएर यो आफूले समेत भोग्नुपरयो ।
मैले इन्स्टाग्राम र फेसबुक स्टोरीमा राखेको स्क्रिनसटपछि आएका प्रतिक्रियामार्फत् आफ्नै साथीभाइ र चिनजानका मान्छेबाट थप मनोवैज्ञानिक हिंसामा परें । कतिले शाब्दिकरूपमा व्यक्त गरेरै त कतिले रियाक्ट गरेर स्पष्टरूपमा भने कि ‘आफैं जिस्किएर बोल्ने अनि पछि हिंसा भयो भन्ने ?’
मैले यस्ता मुद्दामा संवेदनशील ठानेका साथीहरूले समेत यति हल्कारूपमा लिइदिए कि म ती सबैलाई मेरो जिन्दगीबाट ‘बोइकट’ गर्ने निर्णयमा पुगेको छु । जतिसुकै जिस्केर बोलेको होस्, सेक्सको बारेमा नै बोलेको होस्, सेक्स्टिङ गरेको होस् या न्यूड शेयर गरेको नै किन नहोस् त्यो मेरो मर्जीको कुरा हो, म स्वतन्त्र छु तर जहाँबाट मेरो ‘कन्सेन्ट’ र यौनिक एजेन्सीमाथि अतिक्रमण शुरू हुन्छ त्यो हिंसा बन्छ, एकदमै ‘क्लियर’ कुरा । यस्तो हिंसालाई ‘आमन्त्रित’ भनेर नाम दिनु पीडित महिलामाथि दोष थुपारेर पुरूषवादी आपराधिक मानसिकतालाई संरक्षण गर्नु हो ।
यौन र यौनिकताका बारेमा खुलेर लेख्नु बोल्नुको अर्थ यो होइन कि कसैलाई मैले अस्वीकार गरिसक्दा पनि म माथि हावी भएर बारबार प्रस्ताव राख्ने अधिकार छ । डेटिङ साइटमा होस्, एडल्ट साइटमा होस्, इन्स्टाग्राममा होस् या कुनै सेक्स वर्कर महिलाको बेडमा होस् कतै कुनै हालतमा पनि हिंसा स्वीकार्य र पुष्टियोग्य हुँदैन । अनि अनलाइन होस् कि अफलाइन हिंसाले गर्ने मानसिक असर कम हुँदैन ।
म लड्न सक्छु, भिड्न सक्छु भनेर हिँडेको महिलालाई त यतिसम्म गल्ने बनाइदिन्छन् भने आवाज उठाउन नसक्ने र आफ्नो आवाज राख्न सक्ने पहुँचमा नभएका महिलाका हकमा झन् के होला ?
त्यस्ता व्यक्तिलाई बेवास्ता नगरिकन किन बेकारमा भिडेर बसेको भनेर प्रतिक्रिया दिनु हिंसाको अर्को स्वरूप नै हो । र योबेला सबैसँग एकपटक फेरि स्पष्ट कित्ताकाट भएको छ । मेरो परिवारको सदस्य नै भएपनि म शुरूवातमा कसरी बोलें, कसरी प्रस्तुत भएँ ? त्यसका आधारमा हिंसा स्वभाविक र जायज मान्छन् भने म खुलेर बहिष्कार गर्छु । हिंसाका हकमा शुन्य वा शुन्यभन्दा पनि न्यून सहनशीलतामा विश्वास गर्छु र म नि:सन्देह पालना गर्छु ।