Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानीको राजनीतिः बन्दै लाजनीति

हाम्रो कोशी आवाज
असोज ७ २०७९, शुक्रबार
पानीको राजनीतिः बन्दै लाजनीति

मान्छे जन्मिएपछि नमरुन्जेलसम्म उसलाई पानीको आवश्यक पर्छ । जन्मिएपछि बच्चाको सरसफाई गर्न र मरेपछि त्यो मानिसलाई पानी खुवाउन पनि पानीको आवश्यकता पर्छ । बाँचुन्जेल त मानिसलाई खान, सरसफाई गर्न, शौचालय गर्न आदि विभिन्न कामका लागि पानीको आवश्यकता पर्छ भने मरेपछि काजक्रिया गर्न पनि पानीको आवश्यक पर्छ । हामी मानिस वा जनावर र पशुपन्छीहरु पानीबिना बाँच्न सक्दैनौं ।
तर पाँच दशकदेखि उपत्यकादेखि बाहिरी जिल्लाहरुमा घना बस्ती हुने भएकाले जमिनभित्रको मूल फुटेर जमिन बाहिर आउने पानी वा ढुङ्गेधारा, तालपोखरा, खोलानालाहरु सबै सुक्दै जाने अवस्था छ । जताजतै घरहरु बनाएपछि जमिनभित्रको मूल फुटेर आउने पानीहरु बन्द भइरहेको छ । साथै खोला वा टुकुचाहरु पनि मासेर सबै घर बन्यो र भएका खोलाहरुमा बग्ने पानीमा पनि सबै ढलहरु मिसायो ।
यस्तो फोहोर पानी गाईवस्तु, जनावर वा पशुपन्छीहरुले खाँदा उनीहरुको मृत्यु समेत भइरहेको छ । साथै यता अहिले जग्गा किनेर घर बनाउने र भाडामा लगाउनेको संख्या ह्वात्तै बढिरहेको छ । घर पनि महङ्गो भाडामा लगाउनका लागि पाँच तल्लेदेखि अठार तल्लेसम्म बनाइन्छ । घरधनीहरु कोठा त भाडामा लगाउँछन् तर भाडाबहाललाई पानी भने दिँदैनन् ।
अहिले सार्वजनिक ढुङ्गेधारा, कुँवा, तालपोखरीहरु मासिँदै गएका छन् । जसले गर्दा भाडामा बस्ने मानिसहरुले शौचालय गर्न, खान, नुहाउन, कपडा धुन, सरसफाई गर्न आदि सबै कामका लागि जारको नै पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा मेलम्चीको पानी आउँछ भन्ने त अहिले गफ नै भइसकेको छ । त्यस्तै, धरानमा दीर्घकालीनरुपमा पानीको व्यवस्था हुन सकेन । यो सबै राजनीतिले गर्दा हो । पानीको राजनीति अहिले लाजनीति बन्दै गएको छ भन्दा फरक नपर्ला ।
यता पानी बोक्ने ट्याङ्करले पानी बोकेर कमाएको कमाइ गर्छ । एक ट्याङ्करकै सयौं रुपैयाँ लिने गरेको छ । कुचिएको, बिग्रिएको वा फोहोर जारहरुमा पानी बिक्रीवितरण हुने गरेको छ । खोला वा जमिनभित्रको बोडिङ गरेको वा खानयोग्य नरहेको पानीहरु पानी कम्पनीले बेच्ने गरेको पाइन्छ । जार वा बोतलको पानी खानयोग्य रहेको छ वा छैन भनेर न जनतालाई नै थाहा हुन्छ न सरकारलाई नै । पानी बेच्ने कम्पनीहरुले खोलानाला, तालपोखरीहरुको पानी बेच्ने गर्छन् । यता महिनाभरि गरेर १० देखि १२ हजारसम्म कमाउने मानिसले त खानका लागि पानी किन्दा नै पैसा सिधिन्छ  । पानी किन्दा नै सबै पैसा सिध्दिएपछि उसले घरभाडा, खाद्यान्न वा गाडी भाडाहरु कताबाट ल्याउनु गर्छ त । पैसा नहुने मानिसले त अहिले पानी पनि खान पाउँदैन ।
पछिल्लो समय पैसा छैन तर तिर्खा लागिरहेको छ र होटलमा गएर पानी मागेमा त्यहाँ सित्तैमा पानी दिँइदैन । त्यस्तै यता खोलानाला, तालपोखरी, कुँवाहरु सबै मासिदै जाँदा जनावर वा पशुपन्छीहरु पनि पानी खानबाट वञ्चित भइरहेका छन् । नेपालमा ढुंगेधाराहरु थिए तर त्यो धाराहरु कति त मासेर घर बनाइयो भने कतिमा पानी नै आउँदैन । ढुङ्गे धारा, कुँवा, खोलानाला सबै सार्वजनिक जग्गा हो तर त्यो सबै मासेर अहिले त्यो जमिन मानिसले आफनो नाममा ल्याएर घर बनाइरहेका छन् । बुढापाका मानिसहरुले पानी तिर्खा लागेको मानिसलाई पानी दिएमा धर्म हुन्छ भन्थे तर पछिल्लो समयमा त पानीमा नै व्यापार र राजनीति भइरहेको छ । सरकारले पानीमा पनि व्यापार गर्नेहरुलाई न कारबाही नै गर्छ न जनताले पैसा तिरेको खाएको पानी गुणस्तरीय छ वा छैन भनेर अनुगमन नै गर्छ । २०–२५ रुपैयाँ हालेर किनेको पानी २ घुड्को खाँदा नै सिध्दिन्छ । पानी पेटभरि खाएमा एक मानिसले नै ३ बोतल मिनी वाटर खाने गर्छ । साथै यता ८० रुपैयाँसम्म हालेर किनेको एक जार पानीले एकपटक शौचालय गर्न पुग्दैन ।
पानीको रेट सरकारले निर्धारण गरेको छैन र पानी बेच्ने कम्पनीले आफूखुशी पानीको रेट निर्धारण गरिरहेको छ । यी कम्पनीहरुमा राजनीतिक दलहरुको पनि लगानी रहेको छ र यी कम्पनीहरुले राजनीतिक पार्टीको सदस्य लिएर वा चन्दा दिएर जनता र राज्यलाई नै ठगिरहेको छ । राज्यले पनि अहिलेसम्म पानी बेच्ने कम्पनीहरुसँग उचित राजश्व उठाउन सकेको छैन भने जनताले पनि महङ्गो पैसा तिरेर गुणस्तरीय पानी खान पाएका छैनन् । यी कम्पनीहरुले पनि सिण्डिकेट लगाएका छन् र नयाँ कम्पनी आउन वा खुला प्रतिस्पर्धा गर्न दिएका छैनन् । हाल सञ्चालनमा रहेका पानी व्यवसायीहरुले खानयोग्य नरहेको पानी बेचिरहेका छन् र पैसा बढी लिएर कम पानी दिइरहेका छन् । जनता, राज्य र यी कम्पनीमा काम गर्ने मजदुरलाई ठगेर यी व्यवसायीहरु आज अर्बपति बनेका छन् । आफू धनी हुन वा अर्बपति हुनाका लागि बजारमा खानयोग्य नरहेको पानी बिक्रीवितरण गर्ने र पैसा महङ्गो लिने काम गरिरहेका छन् । के यो लुटको धन्दा होइन र ? सरकारले पानी बोक्ने ट्याङ्करको वर्गीकरण गरेको छ । खानयोग्य रहेको पानी बोक्ने टयाङ्करको पछाडि हरियो स्टिकर र प्रयोजनका लागि प्रयोग गर्ने पानी टयाङ्करको पछाडि रातो स्टिकर लगाएको हुन्छ । पानी बोक्ने टयान्करले एक टयाङ्कर पानकिो २ हजारदेखि ५ हजारसम्म लिने गर्छ तर यो मूल्य सस्तो हो कि महङ्गो भनेर जनता र सरकारलाई नै थाहा छैन । यिनीहरुले आफूखुशी पानीको मूल्य राखेर जनता ठगिरहेका छन् । टयाङ्करमा पानी ल्याउँदा बाटोमा नै आधाभन्दा बढी पानी चुहिने गर्छ र घरधनीको टयाङ्कीमा त्यहीँ आधा पानी मात्र जाने गर्छ । तर पैसा भने एक टयाङ्करको नै लिइन्छ । यता घरधनीले भने डेराबहालसम्म त्यो पानीको पैसा उठाउँछ र डेराबहाललाई भने पानी पनि नापेर दिने गर्छ तर आफू भने बढी चलाउने गर्छ ।
पछिल्लो समय घना बस्ती बढेको, जंगलहरु मासिँदै गएको, इट्टाभट्टा वा सवारी साधनहरुको प्रदुषणका कारण पानीका स्रोतहरु मासिदैँ वा सुक्दै गइरहेको पाइन्छ । पानी नभई अन्न पनि फल्दैन र मानिस पनि बाँच्न सक्दैन । आकाशबाट पर्ने पानी पहिला असारमा पर्ने गथ्र्र्योे तर अहिले असारमा नपरी बैशाखमा नै पर्ने गर्छ । आकाशबाट परेको पानी पनि घरको छतबाट बाटोमा खस्ने र बाटो सबै पिच गरेको हुनाले जमिनभित्र जान नपाउँदा पछिल्लो समय घर वा बाटोहरु डुबानमा परिरहेको पाइन्छ । जसले गर्दा जमिन पनि सुख्या हुने र बस्ती पनि डुबानमा पर्ने गर्छ । साथै आकाशबाट आएको पानी बग्ने खोलानाला, तालपोखरी, कुँवाहरु सबै माँसेर घर बनाउँदा पनि बस्ती डुबानमा परिरहेको पाइन्छ । पानीमा पनि राजनीतिक पार्टीले राजनीति गरे जसले गर्दा अहिलेसम्म उपत्यकाका जनताहरुले मेलम्चीको पानी खान पाएका छैनन् । पछिल्लो समयमा देशैभरि पानीको समस्या बढ्दै गइरहेको छ । अहिले आएका जनप्रतिनिधिहरुले पनि पानीको नै नारा लगाएर चुनाव जिते तर पानी ल्याउन भने कुनै प्रयास गरेका छैनन् ।
हामी मानिसलाई पानी नभइ हुँदैन र नेपालको भूमिको पानी नखाइ हामी बाँच्न सक्दैनौं । हामी नेपालीहरुलाई पानी र भूमि दुवैको माया छ । तर नेपालको पानी नखाई बाँच्ने नेपालभरि नै एकजना व्यक्ति छन् । त्यो हुन्, एमालेका अध्यक्ष केपी ओली । उनी नेपालको पानी नखाइ विदेशबाट किनेर ल्याएको पानी खान्छन् । बजारमा जनता भन्छन्, केपी ओलीले खाने पानी एक लिटरको ६० हजार पर्छ । यसरी एक लिटर पानीकै ६० हजार पर्दा उनले पैसा त्यँही कताबाट ल्याउँछन् नि । आफ्नो स्वदेशको त पानी नखाइ विदेशको पानी खाने मानिसलाई पनि स्वदेशको माया हुन्छ त । नेपालमा बस्ने, नेपालमा नै बसेर राजनीति गर्ने तर पानी भने विदेशको खाने । नेपाली मर्छु भन्ने तर नेपालकै पानी नखाइ विदेशको पानी खाने मानिसमाथि जनताले कसरी विश्वास गर्ने । अब जनताले विदेशी पानी खाने मानिसलाई भोट दिनु पनि हुँदैन र सत्तामा पनि पुरयाउनु हुँदैन ।
जार वा बोतलको पानीमा उपभोग मिति र तौल पनि लेखिएको हुँदैन । यसले गर्दा धेरै समयसम्म एउटै जार वा बोतलमा राखेको पानी खाँदा कति पानीहरु बिरामी समेत भएका छन् । यी कम्पनीहरुले आफू धनी बन्न जनतालाई गुणस्तरहीन पानी दिएर हठात राजनीति गरिरहेका छन् । अब सार्वजनिकस्थलहरुमा निःशुल्क पानीको व्यवस्था मिलाउनुपर्छ । के पैसा हुनेलाई मात्र तिर्खा लाग्छ र, पैसा नहुनेलाई पनि त तिर्खा लाग्छ नि त, सरकार । अहिले मानिसलाई तिर्खा लागेर पानी माग्दा पनि नदिने अवस्था सिर्जना भएको छ । पानी खान र शैचालय गर्न पनि पैसाको आवश्यकता पर्छ भनेर बाहिरी जिल्लाका मानिसहरु बताउँछन् । एकातिर मानिसले भनेको समयमा पानी खान नपाउँदा मानिस बेहोस समेत हुने गर्छ भने अर्कोतिर पानी खान नपाउँदा उसको भित्री अङ्गहरुले काम गर्न छोड्छ । साथै यता सुगर भएको मानिसहरुले वा बालबच्चाहरुले दिशापिसाब रोक्न चाहेर पनि रोक्न सक्दैनन् । त्यसकारण अहिले पानी र सार्वजनिक शौचालयको निकै आवश्यक रहेको पाइन्छ । इनारहरु सुक्दैछन् , पानीको मूल मासिँदै छ । विज्ञहरुका अनुसार नेपालमा अब झन् पानीको हाहाकार हुने गर्छ । यता तीन तीन महिनामा पानी बेच्ने कम्पनीले पानीको मूल्य बढाउँछ भने सरकारमा बस्नेहरु कमिशन खाएर अगाउँछन् । जनताले महङ्गो पैसा तिरेर पानी खानुपर्ने बाधयता कसैले देख्दैन । पानीको मूल्य निर्धारण सरकारले गर्नुपर्ने हो तर कम्पनीहरुले आफूले गर्ने गर्छन् । के सरकारभन्दा पानी बेच्ने कम्पनी ठूलो हो । सरकार पानी बेच्ने कम्पनीको अगाडि लम्पसार परिरहेको छ ।

प्रकाशित मिति: असोज ७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend