हातमा एकएक मुठो निगुँरो बोकिरहेका एक जोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउलाई दाउमा राखेर सडकको बीचबीच उभिरहेका देखिन्थे । र, मसिनो स्वरमा–निगुँरो किनि दिनुहोस् न ? भन्दै यात्रुहरुको ध्यानाकर्षण गरिरहेका थिए । ती बालिकाहरुको नरमाइलो दृश्य देखेर मेरो भित्री दिल त यसै रोयो । तर ताराले उनीहरुलाई देख्नेबित्तिकै, ‘आम्मै ! कति खतरा ? यस्तो बाटोको बीचमा उभिदा गाडीले कुच्यायो भने यी नानीहरुको हालत के हुन्छ ? अलिक राम्रो स्थान हेरेर बस्नुपर्ने,’ हतासमा उनले प्रश्न गरिन् ।
उनको प्रश्नले म झन् नाजवाफ बनेको थिएँ । हामी मटरभित्र थियौं । र, चालकले बेधडकको साथ मटर चलाइरहेका थिए । बालिकाहरुको त्यति हृदयविदारक स्थिति देखेपछि मेरो मनमा हल्का त्रास उत्पन्न भयो । त्यसैले चालकलाई, ‘गुरुजी ! कृपया, एकछिन मटर रोक्नोस् त ?’ मैले मटर रोक्नको लागि सानो अनुरोध गरें । मेरो कुरो सुन्नेबित्तिकै उनले पिलो निचोरेझैं सुस्तरी ब्रेक दबाएर मटरलाई रोके । र, गियरलाई हतारहतार न्युट्रल बनाइहाले । त्यसपछि करक्कै आवाज आउने गरी हेन्डब्रेकलाई ताने ।
हेन्डब्रेकको सहायताले मटर रोकिरहेको थियो । त्यसपछि मैले सिसाको झ्याललाई सरर खोलें । झट्टै हेर्दा अवोध देखिने ती बालिकाहरु कतै इलामे राइनीहरु पो हुनकि भन्ने मेरो मनमा यसै लाग्न थालेको थियो । यदि होइनन् भने पनि उनीहरुको अनुहारले राष्ट्रको मूलवासीहरुको प्रतिनिधित्व राम्रै तरिकाले गरिरहेका थिए भन्ने कुरोमा हामी दुई मत हुन सक्दैनथ्यौं । हामी उनीहरुको नजिकै पुगेका थियौं । अब त्यति नजिक पुगेपछि उनीहरुको उमेर अन्दाज लगाउँदाखेरी सायद १०–१२ वर्षको हुनुपर्छ भन्ने लाग्यो । अझै ती दुवैजना दिदीबहिनी पो हुन् कि भन्ने मलाई मनमनै लागिरहेको थियो ।
एकछिनपछि सानो चाहिँले बडो आत्मियताको साथ, ‘सर ! हाम्रो घरमा हाम्री आमा सिकिस्त बिमारी भइरहेकी छिन् । उनको औषधि उपचार गर्ने पैसा छैन । कृपया निगुँरो किनिदिनुहोस् न ?’ भन्दै एकहातले निगुँरोको मुठो उचालेर मेरो अनुहारसामु ल्याइन् । निगुँरोको मुठो मेरो अनुहारको नजिक देखेपछि, ‘भो भो नलिनु है । आज हामी होटलमा नै बस्छौं । हाम्रो घर पनि एकालङ्कामा छ । हामी बाटोमा जाँदाजाँदा सुकि पनि हाल्छ ।’ मटरको पछाडिदेखि ताराको सानो स्वर गुन्जिँदै आयो ।
तर मेरो अनुहारदेखि त्यति नजिकबाट आको त्यो शब्दले मलाई खाटा बसेको पुरानो घाउ उप्काएझैं भयो । किनभने म सानो छँदा एकदिन मेरी आमा पनि त्यस्तै सिकिस्त बिमारी हुनुभएको थियो । र, त्यसबेला बाबु घरमा हुनुहुन्नथ्यो । हिउँदको महिनामा पैसा कमाउनको लागि गुमपहाडतिर जानु भएको थियो । त्यसैले म र बैनी गाउँभरी त्यसरी नै खानाको खोजीमा हिँडिरहेका हुन्थ्यौं ।
मेची सडकमा उनीहरुको अचानक उपस्थितिले मेरो मन बेचैनमात्र होइन, केहीबेर स्तब्ध भइरहेको थियो । अब त्यति नजिक आएर उँभिएपछि मैले उनीहरुलाई शिरदेखि पुछारसम्म राम्ररी हेरें । निक्कै लामो समयसम्म नधोएर जिङरिङगै परेको केसरासी । मयलले कत्लाकत्ला परेर खङरङ्गै भएका हातखुट्टाका छालाहरु । अनि भर्खरभर्खरै हातले एकचोटी दायाँ र अर्कोचोटी बायाँ तानिएका अनुहारमा सिङ्गानको लाप्राहरु । वर्षौ अगाडिदेखि फाटेर धुजाधुजा भएका एक्कैखाले निला जामाहरु । त्यो भन्दा बढी दुःख त मलाई त्यसबेला लाग्यो । जतिबेला जताततै छिद्रछिद्र भएका कट्टुहरुमा मेरो नजर पुगेर बङलङ्गै ठोकिएका थिएँ । यीनै यावत कुरोहरुले त्यहाँ दरिद्रताको पहिचान राम्रैसँग देखाइरहेका थिए ।
चैत्र, वैशाखको मध्ये खडेरी थियो । अझै मध्याहनको टण्टलापुर गर्मीले हामीलाई राम्ररी सताइरहेको थियो । हुन त हामी वातानुकुलित मटरमा सरर हुइँकिरहेको थियौं । त्यसैले हामीलाई खास्सै असर परिरहेको थिएन । तर त्यति कडा घामले सडकमा बिछ्याइएका अलकत्र मज्जाले तताइरहेको मटरदेखि नै आभाष हुन्थ्यो । अब त्यति धेरै तातो अलकत्रमा नग्न खुट्टाले टेक्दा कस्तरी पोलिरहेको होला भनेर मैले गाडीभित्र स्वयम अनुभूत गरिरहेको थिएँ । हुन त उनीहरुको त्यस्तो दुःखद् स्थितिमा मैले निगुँरो पनि किन्न सक्दिनथे ।
किनभने हामी भरै बेलुकी बिर्तामोडमा पुगेर होटल किङ्सबरीमा बास बस्दै थियौं । अझै त्यो योजना झापादेखि ताप्लेजुङको लागि उकाली चढ्नु अगाडी नै बनेका हुन् । त्यस होटलमा हामी पहिले पनि बसेका थियौं । होटल पाँचतारे र एकदम नयाँ थियो । साँच्ची त्यसको आधिकारिक उदघाटन पनि भएको थियो वा थिएन मलाई पत्ता भएन । तर रातको लगभग सय डलरभन्दा मुनी तिर्नुपर्ने त्यो होटल मेरो विचारमा निक्कै सस्तो नै लागेको थियो । नत्रभने विश्वका विभिन्न ठाउँहरु जस्तैः– हङकङ, सिङ्गापुर, दुवाई, लण्डन, रोम, इस्तानबुल, पेरिस र न्युयोर्कमा त्यतिको सस्तोमा हामी कहिले पनि बस्ने अवसर पाएका थिएनौं । यदि अन्य सबै ठाउँलाई छाडिदिने र काठमाण्डौंको अन्य पाँचतारे होटलहरुसँग तुलना गर्ने हो भने पनि हामीलाई निक्कै सस्तो लागेको थियो । त्यसैले ताराले त्यहिँ बस्नुपर्छ भनेर ढिपी गरिरहेकी थिइँ ।
बग्रेल्ती घुम्तीहरु भएको मेची सडकमा त्यसरी भेटिएका नानीहरुको निगुँरो किन्न नसके पनि त्यतिक्कै बिदा हुन मलाई थोरै अफ्ठ्यारो लागिरहेको थियो । त्यसैले गोजीमा आराम गरिरहेको एकहजारको नोट निकालेर पाँच–पाँचसय है भनेर भित्री दिलदेखि दिन मन लाग्यो । त्यति सोचिसकेपछि गोजिमा हात लगाएर पैसा निकाल्न खोज्दै गर्दा, ‘सर ! पर्दैन पर्दैन हजुर, यस्ता नानीहरु बाटामा कति भेटिन्छन् भेटिन्छन् । बाटो बाटोमा पैसा बाँडेर कहाँ साध्य हुनु र ? जति बाँडेपनि पुग्त्तै पुग्दैन नि हजुर ।’ थोरै मुख खुम्च्याएर चालक बोले । उनको भनाई सुनेर केहीहदसम्म साँचो लाग्यो । हुनत मेरो मन पनि कर्कलाका पात माथिको पानी जस्तै लरबरिरहन्छ । नभन्दै उनको कुरोले मेरो विचार सर्लक्कै युटर्न भइहाल्यो ।
साँच्चै पैसा दिएर सबैको पेट भरिने भए मुम्बईमा आधापेट खाएर बाँचिरहेकाहरुलाई मुकेश अम्बानीले किन पैसा नदिएका होलान् ? त्यसैले पैसा दिएर संसार चल्दैन भन्ने उनलाई राम्रैसँग हेक्का रहेछ । त्यसको सट्टामा उनले लगभग एक अरब डलर खर्च गरेर विश्वको सबैभन्दा महङ्गो घर निर्माण गरे । तिनै २७ तले गगनचुम्बी महल ‘एन्टिलिया’ देखि मुनी सडकमा बरु रमिता हेर्छन् । त्यो त भारतीय भूमीको कुरो भयो । यदि चिनियाँहरुको पनि कुरो गर्ने हो भने त्यहाँका असाध्यै धनाढ्य ज्याक माले, ‘सित्तैमा केही चिज पाइँदैन, र हरेक कुरो किन्नुपर्छ,’ भनेका एकचोटी राम्ररी स्मंरण गरें । तर हामी नेपालीहरु चाहिँ कुरो बुझेर वा नबुझेर सितैमा युरोपियन युनियन, युएसएड, जाईका र डिफिडलाई घरिघरि किन घच्घच्याइरहेका छौं भनेर ताजुक लाग्छ ।
‘उसो भए लु भैगो जाउँ त । आखिर जति माया लागेता पनि केही गर्न सकिएन ।’ धेरै मन खेलाएपछि चालकतर्फ हेरेर मैले सुस्तरी मुख खोलें । उनी शाही नेपाली सेनाका पूर्व हवल्दार हुन् । हुनत अहिले शाही शब्द लोप भइसकेको छ । खयर जेसुकै भएतापनि उनी बहुत अनुशासित छन् । उनको बानी ब्यहोरा देखेपछि नेपालीहरु पनि त्यति इमान्दार हुन्छ र भन्ने मलाई उनले बनाएका छन् । मैले त्यसो भन्ने बित्तिकै उनले मटरको हेन्डब्रेक खोले । र, मटर सुस्तरी अगाडि गुड्न थालिहाल्यो । तर त्यती प्यारी नानीहरुलाई सडकमा त्यतिक्कै छाड्दै गर्दा मेरो मन हुरुरु उडेर मेरी छोरीकहाँ पुग्यो । म पनि समयमा नै छाती, तौल, उचाइ र भुँडी नापेर परदेश नलागेको भए सायद मेरी छोरीले पनि क्वीन मेरी युनिभर्सिटी, लण्डनमा अङ्ग्रेजी कानुन पढने अवसर के पाउँथी होली र ? त्यसपछि बेलायतको दोश्रो ठूलो सहर बर्मिङ्घाममा सोलिसिटरको भूमिका कसरी निभाउन सक्थिन होली र ?

त्यसपछि हामी सधैको लागि उनीहरुसँग बिदा भएका थियौं । चालकले टिटटिट हर्न बजाउँदै असंख्या घुम्तीहरु पार गर्दै गयो । हुनत हामी त्यसबेला नेपालको सुदूर पूर्वी जिल्ला ताप्लेजुङ घुम्न निस्केका थियौं । त्यहाँ पुगेर हाम्रा पृय मित्र मणिशंकर पोमुसँग बजारलाई एकचक्कर मार्दा आफ्नो जिल्ला सदरमुकाम दित्तेलझैं सुरक्षित महसुस गरिरहेको थियौं । यदि उहाँसँग साइनो नगाँसिएको भए मनभरि डर बोकेर फुङलिङ बजार घुम्नुपर्ने हुन्थ्यो होला ? तर त्यस्तो भएन । बजार घुमिसकेपछि बेलुकी पख मेवाखोला रिसोर्टमा फिरेका थियौं । र, त्यहाँ एकरात समय बिताएपछि भोलि फुङलीङ बजारलाई बिदाइ गरेका थियौं ।
कुरो २५ अप्रिल २०२१ को हो । अनि हामी पूर्वी नेपालको यात्रामा थियौं । र, यात्रामा म, तारा, दया बैनी र उनकी श्रीमान् थियौं । फुङलिङपछि हाम्रो यात्रा क्रमशः फिदिम हुँदै इलामतर्फ झरेको थियो । वास्तवमा चिया र अलैंचीको मुख्यभूमी रहेको इलाम जिल्ला सम्भवतः नेपालको सबैभन्दा सुन्दर जिल्ला हुनसक्छ भन्ने मेरो ठम्याइँ थियो । जुनकुरो मैले नेपालमा रहेको विभिन्न जिल्लाहरुको यात्राको क्रममा पूर्वको सिमाना काकडभिट्टादेखि पश्चिमको सीमाना दोधारा चाँदनीसम्म पुगेर निकालेको निष्कर्ष थियो । तर त्यो जिल्ला नै राम्रो हो भन्ने मेरो विचार नितान्त व्यक्तिगत विचार हो । सायद अन्य मानिसलाई फरक जिल्ला पनि मन पर्न सक्छ ।
तर यदाकदा मलाई कसैले ठयाक्कै, ‘तपाईलाई नेपालको सबैभन्दा बढी मनपर्ने स्थान कुन हो ?’ भनेर सोधिहालेको खण्डमा म आँखा चिम्लेर निस्फिक्रीको साथ कन्याम, इलाम हो भन्न सक्नेछु । कन्याम घुम्ने सुन्दर सपना लिएर हाम्रो यात्रा क्रमशः अगाडि बढिरहेकै थियो । तर साखेजुङ पुगेर हाम्रो मटरले एकझमट बिसौनीमा थकाइ मारयो । हुनत मेरा पाठकहरुलाई ज्ञान भएकै कुरो हो । साखेजुङ तिनै गाउँको नाम हो । जहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म भएको थियो । तर त्यहाँ पुगेर कसोकसो साखेजुङ, झलनाथ र सडकछाप नानीहरु सम्झिँदा मेरा दिमाग पुनः एकचोटी रन्थनिएर आयो । सायद म पनि यो देशको मन्त्री वा प्रधानमन्त्री हुँदो हुँ त सर्पको अध्यानमा खर्च गर्ने करौडौ करोड सरकारी पैसा तिनै सडकछाप नानीहरुको पढाइमा खर्च गर्थे होला ?
तर म त्यति भाग्यमानी मानिस कहाँ छु र ? मलाई थाहा छ । म कहिलै पनि जिन्दगीमा मन्त्री हुन सक्दै सक्दिनँ । र, सरकारी पैसाको उपभोग पनि गर्न पाउँदिन । हुन त मैले यसो भनिरहँदा उपयोगितावादका पिता जेरेमी बेन्थनले भनेको एउटा कुराले चाहिँ हरेक मानवको हृदय छुन्छ । किनभने मानिसले जुनसुकै काम गरेता पनि ‘अधिकतम मानिसहरुको अधिकतम खुसी’ को लागि गर्नु पर्छ उनले भनेका छन् । यदि चिनियाँ दर्शनशास्त्रि लाउत्सुलेझैं राम्ररी मनन गर्ने हो भने वास्तवमा सर्प पाल्ने काम त न्यूनतम मानिसका लागि अधिकतम खुसी हो कि भन्ने मलाई कताकता भान परयो । तर सबै मानिसको विचार एउटै नहुन पनि सक्दछन् ।
साखेजुङलाई छाडेपछि सर्पको कुरो पनि सकियो । तर पुवाखोला पार गरेपछि भने मेरा नयनहरु हल्का रक्तिम हुँदै आइरहेका थिएँ । किनभने हामी त्यसबेला बरबोटेको कुइँनेटोमा सुस्तरी गुडिरहेका थियौं । अब त्यहाँ पुगेपछि मैले डाक्टर तारानाथ शर्माको बेस्सरी याद गरें । हुनत उनी अहिले हामीसँग हुनुहुन्न । तैपनि बरबोटे तिनै गाउँ हो । जहाँ आजभन्दा लगभग आठ दशक अगाडि उनको जन्म भएको थियो । त्यहाँ जन्मेता पनि उनले अध्यानको क्रममा बेलायतसम्म पुगेर बरालिएका मात्र होइँन । अमेरिकन भूमीमा पनि राम्ररी परेड खेलेको थिएँ ।
अब ताना शर्माले अमेरिका र युरोपमा अध्ययन गर्ने सगौरव अवसरहरु पाउँदा त्यसको आठ दशकपछि निगुँरो बेच्ने इलामे रैनीहरुले खै के पाउने हुन् कुन्नि ? वास्तवमा यो कुरो बुझ्न मैले निक्कै मेहनत गर्नुपर्ने हुन्छ । अझ यसो भनौं । मेरो जस्तो दिमाग हुने मूलवासीहरुलाई अलिक हम्मेहम्मे पर्छ । सम्भवतः आइन्स्टाइनकै दिमागको आवश्यक पर्छ होला ? सन् १९९९ मा मक्कास्टर युनिभर्सिटीका वैज्ञानिकहरुहरुले उनको दिमाग साधारण मानिसको भन्दा अलिक सानो छ भनेका छन् । हुनत अहिले पनि उनको दिमागको विषयमा अध्ययन गर्न मिलिहाल्छ । किनभेन म फिलाडेल्फिय पुग्दा त्यहाँको कुटर सङ्ग्रहालयमा उनको दिमाग छन् भनेर पत्ता लगाएको थिएँ ।
आइन्सटाइनलाई त्यहीँ छाडौं । एउटै राज्यको मानिसहरुले फरकफरक सुविधा भोग गर्न पाउनुमा राज्यको उपल्लो तहमा बस्ने मानिसहरुको कि साधारण जनताको दोष होला ? त्यो पनि सोच्नुपर्ने हुन्छ । हुन त यो कुरो यहाँ भन्न मिल्छ वा मिल्दैन ? तारानाथ र दुर्गानाथहरुले देश विदेशमा अध्ययन गर्ने अवसर पाउँदा के राज्यले सबै मानिसलाई समान व्यवहार गरेका छन् त ? यसको सही जवाफ भेटन नसकिएतापनि निश्चय नै मलाई केहीबेर सोंचनीय बनाइरह्यो ।
त्यति रमाइँलो गाउँ बरबोटे छाडेपछि मटर एक रफ्तारमा गुडिरहेको थियो । किनकिन त्यसबेला मेरो तन इलाममा र मन इलामे जनताहरुप्रति समर्पित भइरहेका थिए । राष्ट्रले जनताप्रति गर्ने भेदभावको कडा बिरोधी युवाको एउटा नाम हो, – रत्नकुमार बान्तवा । मानव जीवनले एउटा कुरो के विचार गर्नुपर्छ भने, ‘दरिद्रता र अन्यायले क्रान्तिको मात्र जन्म दिन्छ । तिनै क्रान्तिको पर्यायवाची नाम हो, बान्तवा । उनको जन्म २००८ सालमा इलाम जिल्लाको सानो गाउँ चित्रेमा भएको थियो ।
२७ चैत्र २०३५ सालमा देउमाइको किनारमा रहेको इभाङ्ग जङ्गलमा छातीमा गोली ठोकेर तत्कालीन सरकारले उनको विभत्स हत्या गरेका थिए । उनलाई हत्या गर्दा उछिट्टिएका रगतका बाछिटाहरु तिनै जङ्गलका चिलाउने रुखहरुमा परेका थिए । हरेक वर्ष तिनै चिलाउनेका रुखहरु पालुवा फेरेर बढ्ने क्रम जारी भएतापनि दीनदुःखी र अशिक्षित बर्गको लागि आन्दोलनमा उत्रिएका बान्तवाको नाम भने घट्दै वा गुमनाम हुँदै गइरहेका छन् । इलाम बजार काटेर उनको समाधिस्थल पार गर्दैगर्दा मैले एकपटक टोपी खोलेर रत्न कुमार वान्तवालाई हार्दिक सलाम गरेको थिएँ ।
बादलुको घुम्तीभित्र सधैं हराइरहने इलाम बजारलाई छाडेर हामी फिक्कलमा तस्वीरका लागि रोकिएका थियौं । त्यसपछि मटर कन्याममा पुगेर अर्कोपटक रोकियो । कन्याम मेरो दोश्रो चोटीको गन्तव्य थियो । पहिलोचोटी यहाँदेखि सुरु गरेको यात्रा बाबुको पालाको गुन्द्री बजार र मेरो समयको दार्जीलिङ, खरसाङ, कालिम्पोङ । र, सिक्किमको जोरथाङ, नाम्ची, गान्तोक हुँदै सिलगुरीमा पुगेर अन्त गरेको थिएँ । कन्यामको यात्रा ताराको लागि बिलकुल पहिलो पटकको थियो । त्यसैले हामी त्यहाँ पुग्ने बितिक्कै हतार हतार एक–एकवटा सेतो घोडा चढिहालेका थियौं । त्यसपछि घोडाबाट सवार भएर नजिकै रहेको चियाबारीका थुम्काहरुलाई सुस्तरी चक्कर मार्न थालेका थियौं ।
तर त्यसरी चियाबारीको थुम्कालाई चक्कर मार्दै गर्दा मलाई अचानक रियाद पुगेको झझल्को आउन थाल्यो । रियाद पुगेको निक्कै लामो समयपछि हामी जेरुसेलममा पनि पुगेका थियौं । तर तिनै रियाददेखि जेरुसेलम पुग्ने प्रोफेट महम्मदको कथा भने मेरोभन्दा अलिक पृथक रहेका छन् । इस्लाम धर्मका अनुयायीहरुले उनी हाम्रा भगवान हुन् । र तिनै भगवान प्रोफेटले रियाददेखि जेरुसेलम पुगेर बायुपङ्खी घोडामा चढेर स्वर्गमा बिलय भएका थिएँ भन्ने विश्वास गरेका छन् । त्यसमा कतिको सत्यता छ । त्यो त मलाई पटक्कै थाहा छैन । तर सत्य चाहिँ के हो भने हामी कन्यामको चियाबारीमा तारासँग निकैबेर बिलय भइरहेका थियौं ।
निश्चय नै कन्याम र चिया एक अर्कामा पर्यायवाची शब्द हुन् भन्नमा कसैले कन्जुस्याइँ गर्न मिल्दै मिल्दैन् । लगभग १५–१६ वर्ष अगाडिदेखि कफिलाई सधैंको लागि तिलान्जली दिएपश्चात् चियाप्रति मेरो गहिरो प्रेम बस्न थालेको छ । तर चियाको इतिहास पनि एक प्रकारले गज्जबको नै छ । त्यसको अध्यान गर्न म एक दिन बेजिङ वा म्याण्डरिन भाषामा (बे भनेको उत्तर र जिङ भनेको राजधानी) उत्तरको राजधानी बेजिङ अथवा पूर्व पेकिङ पुगेको थिएँ ।
चीनमा इसापूर्व २७३७ तिरको एकदिन यस्तो घटना घट्न जान्छ । एक बिहान चिनियाँ सम्राट शेन नुङ एक कप तातोपानी लिएर एउटा रुखको मुनि बसिरहेको हुन्छन् । अचानक आएको हुरीले सम्राटको कपमा क्यामेलियाको पात खसेर पस्छ । र, उनले तिनै पातदेखि आएको रसलाई मज्जाले पिइदिन्छन् । सम्भवतः त्यसै दिनदेखि त्यसको नाम चिया राखियो र चियाको विकास विश्वभरि तीब्र गतिले फैलिँदै गयो ।
चियाको इतिहासमात्र होइन । हामीले बेजिङमा छँदा चिया आस्वादक उत्सव (टि टेस्टिङ सेरेमनी) मा भाग लिने सुनौला अवसर पनि पाएका थियौं । अनि त्यसबेला चिया चखाउने जवान पट्ठीकी नाम चाहिँ अमन्डा थियो । उनको नाम अमन्डा कसरी रहन गयो होला भनेर मेरा पाठकहरु छक्क पर्नुहुन्छ होला ? तर प्रायः चिनियाँहरुको नाम चिनियाँ भाषा र अङ्ग्रेजी भाषामा गरेर दुई प्रकारले राखेका हुन्छन् । तिनै पट्ठीले साधरणतय चिनियाँ चियाहरु सेतो, हरियो, पहेलो, ओलाङ, कालो र गाढा रङ्का हुन्छन् भनेर हामीलाई भनेकी भनिन् ।
तर उनले भनेकी बाहेक मैले रातो चिया पनि निक्कैचोटी पिएको छु भन्ने त्यसबेला झल्यास्सै याद गरें । रुइँबुस वनस्पतिबाट बन्ने उक्त चिया अफ्रिकन रातो चिया भनेर विश्वभर मज्जाले चिन्ने गरिन्छ । तर उनले त्यतिबेला चिनियाँ चियाको मात्र कुरो गरेकी होलिन् भनेर मैले केही सोध्ने जमर्को गरिनँ । उनले ती माथि उल्लेख गरिएको सबै चियाहरुको विषयमा बताइसकेपछि हामीलाई सबै चियाको स्वाद चाख्ने अवसर पनि प्रदान गरेकी थिइनँ । हुनत मैले संसारको विभिन्न आनन्ददायी होटलहरुमा प्राप्त गरिने मध्याहनको चिया (आफ्टरनुन टि) पिउँदै गर्दा तिनै चियाहरु पिएको बेजोडले अनुभव सङ्गालेको छु । त्यसो त चिनियाँ चियाहरुदेखि बाहेक भारतीय चियाहरु दार्जीलिङ, सिक्किम र आसामहरु पनि कहाँ कमी छन् र ? तर मैले यहाँनेर इङ्लीस ब्रेकफास्ट टिको चाहिँ कुरो गर्न चाहिनँ ।
हाम्रो यात्राको समय अविरल नदीझैं बहिरहेको थियो । त्यसैले हामीलाई कन्याममा इलामे चियाको स्वाद लिने मौका भने जुर्न सक्दै सकेनन् । जेसुकै भएतापनि कन्यामसँग बिदा मागेर चारआली झर्दै गर्दा हाम्रो दिन समाप्त भएर सूर्य अस्ताउने काम भइरहेको थियो । कसोकसो भाग्यले साथ दिएर सूर्यास्तको रमाइलो दृश्यवलोकन गर्ने समयमा हामी ठेक्कै पूर्व–पश्चिम राजमार्गमा पस्दै थियौं । त्यसरी हामी पूर्वबाट पश्चिम लाग्दै गर्दा हाम्रो ताप्लेजुङ, पाँचथर, इलाम र झापाको यात्रा पनि पूरा हुनै आँटेको थियो । खै मलाई त्यसबेला किन हो किन ? थोरै मन उद्वेलित भइरहेको थियो । त्यसैले प्रख्यात क्रान्तदर्शी कवि रडयार्ड किपलिङले लेखेको कविताको एकहरप स्मृतिमा जागिरहेको थियो ।
‘आखिर पूर्व भनेको पूर्व हो, र पश्चिम पश्चिम नै हो । र, यी दुईको कहिलै भेट हुने छैनन् ।’
खोटाङ, हालः अक्सफोर्डसायर, बेलायत