धरानः धरानमा लकडाउनले गर्दा आम्दानी गुम्न थालेपछि साथै व्यवहार चलाउन कठिन हुन थालेपछि ऋण लिएर व्यवहार चलाउने बढ्न थालेका छन् ।
लकडाउनले आम्दानी गुमेको साथै व्यवसायमा धक्का लागेको, पारिवारिक गर्जो टार्न समस्या भएको भन्दै ऋण लिएर काम चलाउने बढेका हुन् । व्यापार, व्यवसाय चौपट तर पनि व्यवसाय सञ्चालन गर्न, बैंकको ऋण तिर्न र घरको गर्जो टार्न ऋण जायजेथा बैङ्कमा राख्दै ऋण निकाल्ने क्रम बढेको हो ।
‘शुरूका दुई महिनासम्म त खासै केही असर परेन तर त्यसपछि साह्रै गाह्रो भयो, बैंकको ताकेता, व्यवसाय गरेको ठाउँको कोठाभाडा तिर्न आदि समस्याले हैरान नै भइयो’, नाम नछाप्ने शर्तमा धरान–१२ का व्यवसायी भन्छन्, ‘अन्त्यमा तनाव लिँदै जग्गा रोक्का गरेरै भएपनि व्यवस्था गरियो ।’
यो त एक उदाहरण पात्र मात्रै हुन् । अहिले धरानमा लकडाउनले आम्दानी गुमेपछि ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्दो छ । धरानस्थित मालपोत कार्यालयको रेकर्डले पनि त्यही देखाउँछ । असारदेखि कार्यालय खुल्न थालेको हो । मालपोत कार्यालय पनि असार १ गतेदेखि नै सञ्चालनमा आयो ।
असार १ देखि हालसम्म ७५ जनाले जग्गा रोक्का गरेको कार्यालयका प्रमुख दिलशेर राई बताउँछन् । ‘लकडाउनकै कारण धेरैलाई समस्या छ नि’, उनले भने, ‘तीन महिनाको लकडाउनका कारण आम्दानी गुमेपछि यसो गरेका हुन् ।’ उनले भने । आर्थिक कारोबार ठप्प भएर कार्यालय खुलेदेखि नै रोक्का फुकुवाको क्रम बढेको उनी बताउँछन् । ‘यो अगाडिको तुलनामा अलि बढी हो’, उनी थप्छन्, ‘यसमा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन रोक्का गरेको देखिन्छ ।’
उनले लकडाउन खुकुलो भएपछि रोक्का तथा फुकुवा बढ्दा आर्थिक समस्या परेको बताउँछन् । खर्च टार्न जग्गा धितो राख्ने व्यवसायीदेखि अन्य प्रयोजन (घर खर्च, कर्मचारीलाई तलब, अन्यबाट सापटी लिएको ऋण तिर्न आदि) मा पनि जग्गा धितो राखेर ऋण लिने बढेको उनी बताउँछन् ।
धरानको कुरा गर्ने हो भने असार १ अघि नै बजार खुलेपनि व्यवसाय खासै नभएको व्यवसायी बताउँछन् । अहिले पनि व्यवसायीहरू पसलमा हावा छिरोस् भनेर खोल्ने गरेको बताउँछन् । यस्तै, ग्राहक नआएपछि रुगेर बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । ‘ग्राहक नै आउँदैनन्’, धरान–१२ का व्यवसायीले खुलाए, ‘पसल खोलेको तीन चार दिनपछि घरभाडा दिनू भन्दै घरधनी आइपुगे, व्यवसाय छैन, यतिका दिनसम्म कमाएको रकम खाइसक्यौं पनि भन्न सकिएन ।’ उनी रोजगारी गुमाएका कर्मचारीलाई पनि तलब दिन नसकिएको बताउँछन् । ‘निकै गाह्रो गरेर उठ्ने प्रयास गरिँदैछ, रोजगारी गुमाएका कर्मचारीलाई पनि तलब दिन सकिएको छैन, तिनीहरूको छाक कसरी टरिरहेको होला भनेर चिन्तित छौं ।’