धरानः सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन गरेका छन् ।
निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारी तलब माग्दै उपमहानगरपालिका अगाडि प्रदर्शनमा उत्रिएका हुन् । शान्तिपूर्णरूपमा प्रदर्शन सकिएको संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) सुनसरीका सचिव शम्भु रेग्मीले जानकारी दिए ।
हाम्रा लागि सरकार कहाँ छ, हामी अभिभावकप्रति प्रतिबद्ध छौं, हाम्रो तलबको व्यवस्था गरलगायतका नारासहितको प्लेकार्ड बोकेर त्यहाँ प्रदर्शन गरिएको उनले जानकारी दिए ।
आयोजित कोणसभा कार्यक्रममा प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य गोपीकृष्ण खतिवडा, प्रदेश नं. १ सदस्य इन्दिरा शर्मा, सुनसरी इन्चार्ज जेपी काफ्ले, सुनसरी अध्यक्ष यज्ञराज श्रेष्ठ, शिक्षक हेमन्तमणि दाहाल, राम गौतम, विद्याभुषण गुप्ता, धरान नगर कोषाध्यक्ष जितेन्द्र तामाङलगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै उनीहरूले लकडाउन अवधिको तलब निशर्त पाउनुपर्ने, सरकार मौन बसे कडा आन्दोलन गर्ने चेतावनी दिए । करिब ३ सय भन्दा बढी शिक्षकको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो ।
अहिलेसम्म निजी विद्यालयका शिक्षक, कर्मचारीका समस्याबारे सरकार, निजी विद्यालय सम्बद्ध संघसंस्था, संगठन कसैले पनि चुँसम्म नबोलेको शिक्षकहरूको गुनासो थियो । सचिव रेग्मीले शिक्षक, कर्मचारीले चैतसम्मको तलब पाएको तर वैशाख, जेठको तलब पाउन नसकेको गुनासो पोखे ।
‘निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले विगत चार महिनायता पनि तलब नपाएको अवस्था छ, विभिन्न विद्यालयहरूले शिक्षक–कर्मचारीहरू धमाधम निकाल्न थालेको, राज्यले पनि यसतर्फ कुनै चासो नदेखाएकोले हामी आन्दोलित बनेका हौं’, उनले थपे, ‘बिनातलब भोकभोकै मर्ने अवस्थामा आइपुग्दा पनि विद्यालय सञ्चालकहरू चुप लाग्नु अर्को आश्चार्यको कुरा हो ।’





