काठमाडौंः अबदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले असार १९ गते कक्षा–११ को परीक्षाको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको छ । यस वर्षमात्र नभई सधैंका लागि अब विद्यालयले नै कक्षा–११ को परीक्षा सञ्चालन गर्नेछ । परिषद्को अध्यक्षता शिक्षामन्त्रीले गर्ने कानुनी प्रावधान छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले परिषद्ले सो निर्णय गरेको जानकारी दिँदै भने, ‘विद्यालय शिक्षाको अन्तिम कक्षा १२ मा मात्र परीक्षा लिनुपर्दछ भन्ने अवधारणाअनुरुप यो निर्णय भएको हो ।’
परिषद्ले दुई वर्षअघि कक्षा १२ मा मात्र अन्तिम परीक्षा लिने निर्णय गरेको थियो । त्यसलगत्तै पुनः सच्याएर कक्षा ११ मा पनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरियो । त्यसपछिका दिनमा यो विषय विवाद र चर्चामा आएको थियो ।
‘विद्यालयले गर्ने मूल्याँकनलाई नै आधार मान्ने गरी कार्यविधि बनाउने जिम्मा बोर्डलाई दिईएको हो’ उनले भने ‘कक्षा ११ को मूल्याँकन गर्ने जिम्मा सधैँको लागि विद्यालयलाई नै दिने गरी कार्य गर्ने र यसमा आईपर्ने व्यवहारिक उल्झन कार्यविधिले थप स्पष्ट बनाउने छ, पाठ्यक्रम लगायतका विषयमा धेरै समस्या छैन, केही रहेछन् भने हामीले स्पष्ट पार्छौ ।’
कक्षा १२ को परीक्षा भने महामारीको अवस्था सामान्य भएपछि उचित समयमा लिने उनले बताए ।