Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तरकारी छोइनसक्नु !

हाम्रो कोशी आवाज
साउन ७ २०७७, बुधबार
धरानमा तरकारी छोइनसक्नु !

धरानः धरानमा तरकारीको भाउ छोइनसक्नु अवस्थामा छ । व्यवसायीले अविरल वर्षा, बाढी–पहिरो जस्ता कारण देखाएपनि उपभोक्ता मान्न तयार छैनन् । व्यवसायीहरूले भने वर्षाकै कारण अहिले भाउ बढेको बताएका छन् ।
बजारमा तरकारीको भाउ वर्षा शुरू भएपछि हवात्तै बढेको धरानका खुद्रा व्यवसायी शुक्र लिम्बूले बताउँछन् । ‘जब पानी पर्न थाल्यो त्यसपछि तराईबाट आउने तरकारी सहजै आउन छोड्यो, पहाडी भेग र गाउँघरबाट तरकारी आउन छाड्यो,’ उनले भने ‘लगातारको वर्षाले नदी र खोला बढेपछि तराईबाट तरकारी आएकै छैन ।’
पानी पर्दा गाउँघरको सडकखण्ड हिलाम्मे हुने तथा त्यस्तो सडकमा गाडी सञ्चालन गर्न समेत कठिन हुने हुँदा स्थानीय किसानले खेतबारीमा उत्पादन गरेको तरकारी बजारसम्म आउन नसकेपछि पहिलो कुरा त तरकारी नै नपाउने अनि तरकारी पाइहालेपनि भाउ बढेको तरकारी लिनुपर्ने बाध्यता रहेको खुद्रा व्यवसायीहरू बताउँछन् । यतिबेला किसान पनि खेतीपातीमा अल्मलिने समय भएको हुँदा पनि वर्षा शुरू भएपछि बजारमा स्थानीय तरकारी आउने क्रम रोकिएपछि भाउ आकासिएको उनीहरूको भनाइ छ ।
‘मौसममा आएका परिवर्तनका कारण र बाढीपहिरो, वर्षाले गर्दा गाउँघरबाट तरकारी आउनै छोड्यो,’ धरानका व्यवसायी शुक्र लिम्बू भन्छन्, ‘त्यसले बजारमा तरकारीको अभाव भएको छ र मूल्य पनि त्यही तरिकाले बढ्दै गएको छ ।’

सब्जीमण्डी छेऊ सडक छेऊमा तरकारी बेच्न बसेका महिला । फोटो फाइलः हाम्रो कोशी आवाज

यही सिजनमा पनि धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका जिल्लाबाट तरकारी आउने गर्दछ । तराईमा बाढीको डुबान भएकाले सहजै तरकारी आउन नसकेको व्यवसायी बताउँछन् । यस्तै, भारतबाट आउने तरकारी पनि सहजै आउन सकेको छैन ।
‘तरकारी छोइनसक्नु छ, हामी उपभोक्ता समेत मर्कामा परेका छौं,’ धरान–१६ की लिला श्रेष्ठ भनिन् । वर्षा शुरू हुनुअघि प्रतिकिलो फुटकर ३० रूपैयाँमा किन्न मिल्ने टमाटर ५० रुपैयाँ, ५० मा पाइने आलु ७० रुपैयाँ, सिमी पावाकै ३० रुपैयाँ, बोडी पावाको ४० रूपैयाँ छ । हरियो खुर्सानीको भाउ भने अप्रत्यासित रूपमा बढेको छ । सागको नाम निसाना पनि छैन । कृषि बजारमै पनि सागको मूल्य ७० रुपैयाँसम्म छ ।
केही सातादेखि धरानमा तरकारीको मूल्य अत्याधिक बढेको छ । असारको २८ देखि हालसम्म तरकारी बढ्दै गएको र हाल थप आकाशिएको छ । त्यहाँदेखिको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म बढेको व्यवसायी बताउँछन् ।
तरकारीको भाउ के कारणले चुलियो भन्ने स्पष्ट हुन सकेको छैन । व्यवसायीका कुरा पत्याउने हो भने वर्षातका कारण तरकारीको मूल्य आकासिएको हो । तर उपभोक्ता र अधिकारकर्मीले भने बहाना वर्षा, बाढी–पहिरोको गरेर कालोबजारी गर्ने सल्बलाएको तर्क गर्दै आएका छन् ।
आखिर जे कारणले तरकारीको भाउ बढेपनि बिहान–बेलुका आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । यस्तै, बाढीको मौकामा चौका हान्नेहरु बढेको उपभोक्ताको आरोप छ । अहिले बाढीले प्रभावित पारेको भन्दै मौका छोपेर कृत्रिम अभाव खडा गरी कालोबजारी बढ्दै गएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: साउन ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend