बिर्तामोडः भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दशरदश लाख रुपैयाँ दिने सहमति भएको छ ।
कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा डुबेर बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
क्षतिपूर्तिको माग राख्दै परिवारले शव नबुझेपछि मृतक परिवारलाई प्रति परिवार दशलाख रुपैया दिने सहमति भए पछि उनीहरुले शव बुझेका छन् । पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँका १० वर्षीय बालक अंकुस तामाङ, बिर्तामोड मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वार्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको हो ।
कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले खनेर छाडिएको पोखरीमा तीनजना बालकले एकैठाउँमा ज्यान गुमाएको भन्दै पीडितपक्षले उचित न्यायसँगै राहतको माग राखेका थिए ।
भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको लामो छलफल पश्चात् पाँच बुँदे लिखित सम्झौतापछि परिवारजनले शव बुझेका हुन् ।
छलफल पश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाला पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था गर्ने, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माण स्थलमा सुरक्षाको व्यवस्था गर्ने, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज गर्ने र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहत लगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ । थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए ।