धरानः सुनसरीमा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्ति खुलेआम बजारमा हिँडेपछि सुनसरी सदरमुकाम इनरुवामा निषेधाज्ञा जारी गरिएको छ ।
इनरुवा घर भएकामा कोरोना संक्रमित पाइएपछि इनरुवा बजार क्षेत्र बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षिय भेलाले तत्कालका लागि पुनः लकडाउन कार्यान्वयनमा ल्याइने निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले इनरुवामा पुनः लकडाउन गरिएको बताए । कोरोना पोजिटिभ देखिएका प्रहरी बजारभरी हिँडडुल गरेका कारण जोखिम उत्पन्न हुने भएकाले इनरुवालाई सुरक्षित राख्न बजारसमेत बन्द गर्न निर्देशन दिएको प्रजिअ पोखरेलले जानकारी दिए । कोरोना पोजिटिभ देखिएका प्रहरीलाई हाल नियन्त्रणमा लिइएको प्रजिअ पोखरेलले बताए ।