Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानिस सफल ‘हुँदैन’ सफल ‘बन्छ’ !

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
मानिस सफल ‘हुँदैन’ सफल ‘बन्छ’ !

सानोदेखि नै मानिसलाई ठूलो (वा सफल) मान्छे बन्नुपर्छ भनेर ठूलाले भनिरहेका हुन्छन् । यस्तो सुनिरहँदा बालमस्तिष्कमा परेको हुन सक्छ कि सफल बन्ने कुरा एकदमै सजिलो काम हो । सफलता एकैदिनमा वा एकैपटक हासिल भइहाल्छ भन्ने उनीहरूलाई परिरहेको हुन्छ । उनीहरूलाई संसारकै ठूला सपना देखाइन्छ तर त्यही किसिमले तयार चाहिँ पारिँदैन । समयक्रमसँगै विविध कारणले उनीहरूका सपनाहरू खुम्चिँदै खुम्चिँदै जाने गर्छन् र एकदिन यस्तो पनि अवस्था आउन सक्छ कि सफल बन्नु कता हो कता बरु जीवनलाई कतातर्फ अघि बढाउने भन्ने नै अनिश्चित भइरहेको हुन्छ । क्षेत्र जुनसुकै होस्, सफलताका लागि सानोतिनो तयारीले सम्भव हुँदैन । धेरैले भन्ने गरेको के हो भने कडा मिहिनेतले मात्र सफलता प्राप्त हुन सक्दछ । तर खासमा कडा मिहिनेत गर्नेहरू सबै सफल छन् त ? उसोभए के-के जरुरी छ त सफलता प्राप्तिका लागि ? आउनुहोस् यसबारे केही चर्चा गरौँ ।
सर्वप्रथम यो बुझ्न जरुरी छ कि मानिस सफल ‘हुने’ होइन ‘बन्ने’ हो । यसको अर्थ सफलता भनेको कुनै आकष्मिक वा चामत्कारिक घटना होइन, जुन तत्कालै हासिल गर्न सकियोस् । सफलता त निरन्तरको चाहना, त्याग र मिहिनेतले प्राप्त हुने कुरा हो । यो तुलनात्मक रुपमा बढी नै समय लाग्ने कुरा हो । त्यसैले मानिस सफल ‘हुँदैन’ सफल ‘बन्छ’ । सफल बन्ने र बन्न नसक्नेका बीचको ठूलो फरक उनीहरूको सोचाइमा नै हुने गर्दछ । सफलता चाहनेहरू सोच्दछन् उनीहरूले जीवनमा केही गर्नु छ तर सामान्य मानिसले सोच्दछन् उनीहरूको जीवनमा केही राम्रो हुनैपर्दछ ।
सफल हुनका लागि धेरै नै पूर्वशर्तहरू हुने गर्दछन् । असफल हुनका लागि चाहिँ खासै केही गर्नुपर्दैन, त्यस्ता पूर्वशर्तहरूलाई आँखा चिम्लिदिए पुग्छ । अर्थात् सफल हुनभन्दा असफल हुन हजारौँ गुणा सजिलो छ र त्यसको विपरीत सफल हुनलाई असफल हुनभन्दा त्यति नै बढी साहसको पनि जरुरत छ । सफल हुनको लागि कस्तो साहस जुटाउने त ? अब यसबारे केही कुरा गरौँ ।
सफलता चाहने मानिसले गर्नुपर्ने सबभन्दा पहिलो साहस भनेको गुनासो गर्न छाड्नु र अरुप्रति कृतज्ञ हुनु हो । सफल बन्न खोज्ने मानिसहरू आफूले गरेको कामको सबै श्रेय आफैँ मात्र लिन चाहँदैनन् । उनीहरू आफ्नो सफलताको पछाडि अरुको समेत हात रहेको कुरालाई पनि सहजै स्वीकार गर्दछन् । जसले यस प्रकारको साहस जुटाउन सक्छ, उसले सफलताको मार्गतर्फ पाइला बढाउँदै गइरहेको हुन्छ ।
सफल बन्न चाहनेले गर्नुपर्ने अर्को साहस भनेको साँघुरो सोचाइबाट माथि उठ्ने साहस गर्नु हो । उनीहरू आफूले जानेको ज्ञान अरुलाई बाँड्न पछि पर्दैनन् । साथै उनीहरू आफूले गरेको मात्र होइन देखेका/सुनेका कुरा तथा अरुले गरेका योगदानलाई समेत सफलताको लागि श्रेय दिने गर्दछन् । तर यसको विपरीत सामान्य मान्छेहरू चाहिँ आफूले जानेको कुरालाई हत्तपत्त अरुलाई बाँडिहाल्न खोज्दैनन् । न उनीहरू अरू कसैले आफूलाई सिकाउनु जरुरी छ भन्ने नै देख्दछन् । बरु आफ्नो प्राप्तिमा आफ्नो बाहेक कसैको भूमिका नै भन्ने खालको घमण्ड देखाउने गर्दछन् । अर्को शब्दमा भन्नुपर्दा सफल बन्ने मानिसमा ज्ञानको घमण्ड हुँदैन भने सामान्य मानिसमा घमण्डको ज्ञान हुँदैन । सामान्य मानिसहरूमा यही सोचाइबाट माथि उठ्ने साहसको कमी देखिन्छ र सजिलै सफलता हात पार्न सक्दैनन् । उदाहरणका लागि हामी कतिपय विद्यार्थीहरूलाई लिन सक्दछौँ जसले परीक्षामा राम्रो नतीजा ल्याएमा आफ्नै कारण तर सोचेजस्तो हुन नसकेमा शिक्षकको कारण ठान्ने गर्दछन् । यस्ता विद्यार्थीहरूले ठूलो सफलता हात पार्ने सम्भावना न्यूनप्राय रहन्छ ।

समस्यालाई फरक ढङ्गले हेर्ने साहस गर्नु सफल बन्ने व्यक्तिको अर्को गुण हो । समस्याबाट भाग्नुभन्दा समस्यासँग जुधेर अगाडि बढ्न खोज्छन् उनीहरू । अर्थात् सफल बन्ने व्यक्तिहरु हरेक समस्यामा अवसर देख्छन् भने असफल व्यक्तिहरु हरेक अवसरमा पनि समस्या देख्छन् । समस्याबाट उम्कने बहाना खोज्नुको सट्टामा सफल बन्ने व्यक्ति हरेक समस्याको समाधान खोज्नतिर लाग्दछन् । असफल व्यक्तिहरूमा यो साहसको पनि कमी देखिन्छ ।
सफल बन्ने व्यक्तिले गर्नुपर्ने अर्को साहस भनेको अर्थपूर्ण प्रयत्न गर्नु हो । कर्म र लगनशीलतामा विश्वास गर्ने उनीहरू आफ्नो लक्ष्यसँग मेल खाने मानिसहरूसँग सहकार्य गर्नका लागि पनि तयार भइरहेका हुन्छन् । सफलतातिर जान नसक्ने मानिसहरू पनि व्यस्त त भइरहेकै हुन्छन् तर त्यो व्यस्तता सार्थक भए नभएको चाहिँ ख्याल गरिरहेका हुन्नन् । उनीहरू कर्ममा भन्दा भाग्यमा बढी विश्वास गर्छन् अनि अरुको साथ लिनुसट्टा एक्लै अगाडि बढ्न खोज्छन् । तसर्थ सफलता प्राप्तिका लागि आफ्नो काममा केन्द्रित भई लक्ष्यतर्फ बढ्ने निरन्तरको प्रयत्नको पनि त्यति नै जरुरत पर्दछ ।
आफ्नो लक्ष्यमा पुग्नका लागि व्यवस्थित कदम चाल्ने साहस गर्नु सफल बन्ने व्यक्तिले गर्नुपर्ने अर्को साहस हो । सफल बन्ने मानिसहरू कार्ययोजना बनाएर सही ढंगले अगाडि बढ्छन् । समयलाई कसरी उपयोग गर्ने, सही समयमा कसरी सही निर्णय गर्ने आदि कुराहरूमा उनीहरूको ध्यान गइरहेको हुन्छ । यसको विपरीत असफल व्यक्तिसँग अगाडि बढ्नका लागि कुनै कार्ययोजना हुँदैन र समय आफ्नो हातबाट फुत्किएको पनि होस हुदैन उनीहरूलाई ।
सफल बन्नेबारे सोच्नु जति सजिलो हुन्छ, साँच्चै नै सफल बन्नलाई त्यति नै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । तर केही बानी व्यवहारलाई बदल्ने साहस गर्न सकेमा सफलता भनेको धेरै गार्हो कुरा पनि रहँदैन । सफलता र असफलता भन्ने कुरा समय र परिस्थितिले कम तथा व्यक्तिको बानी व्यवहार तथा हिम्मतले नै बढी मात्रामा निर्धारण गर्ने गर्दछ । सफल बन्न चाहनेले लक्ष्यलाई केन्द्रमा राखेर केही नयाँ कदमहरू चाहिँ चाल्नैपर्ने हुन्छ । तर असफलताको लागि हामीले खासै केही गर्नुपर्दैन, सफलताको लागि जुटाउनुपर्ने साहसलाई नजुटाए मात्र पुग्दछ, जसरी प्रकाशलाई छेकेमा वा हटाएमा अन्धकार आफैँ उपस्थित हुन्छ ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend