विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्तिको निधन भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्नेसहितका समस्या देखिएको थियो ।
उनलाई मंगलबार बिहान करिब १ बजे अस्पतालको आइसोलेशन वार्डमा मृत्यु भएको मेसु डा. दासले जानकारी दिए । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको उनले बताए ।
सोही कारण उनमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको भए पनि रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताए । मृतकका आफन्तले उनमा जन्डिस देखिएको बताएका छन् । अस्पताल पुग्नसाथ उनको मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षण गरेर कोरोना नदेखिए मात्र शव आफन्तलाई दिने अस्पतालले जनाएको छ । उनलाई शुरूमा विराट मेडिकल कलेज लगिएको भएपनि न्यौपानेलाई भर्ना लिएको थिएन । कोरोनाको आशंकामा विराटले भर्ना नलिएपछि उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले बताएका छन् ।
यसअघि, सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।