धरानः एसइईको नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुनः एकपटक परीक्षण मात्रै भइरहेको जनाएको छ । ‘विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको छ ।’ बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिए ।
परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको उनले जानकारी दिए । कोरोना संक्रमण जोखिम बढेको र प्राविधिक कारण नतिजा प्रकाशनमा ढिला भएको उनले जानकारी दिए । ‘हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि हुनसक्ने र परीक्षार्थीलाई त्रुटि सच्याउन काठमाण्डौ आउन समस्या हुने देखिएकाले पनि केही ढिला भएको हो ।’ उनले भने । अहिले प्रमाणीकरण गर्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए ।
नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्नेछ । माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने उल्लेख छ । यसपाली एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।