विराटनगरः धरानका ९ जनासहित प्रदेश १ मा ४२ संक्रमित थपिएका छन् ।
संक्रमणमुक्त जिल्ला घोषित भनिएका प्रदेश १ को धनकुटा र खोटाङमा पनि समान १ जना कोरोना संक्रमित थपिएका छन् । त्यहाँ भेटिएका संक्रमित दुवै पुरुष छन् ।
धरानमा ७ पुरुष र २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, मोरङमा १६, झापामा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष र १ महिला, पथरीशनिश्चरेका १ पुरुषमा कोरोना पुष्टि भएको छ । झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष र १ महिला, कमल गाउँपालिकाका १ पुरुषमा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ । प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ मा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएकामध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
संक्रमित प्रहरी उपचार गराउन गएपछि अस्पताल
उता झापाको दमकमा कोरोना संक्रमित उपचारका लागि आएको पुष्टि भएपछि त्यहाँ रहेको दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ ।
कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको अस्पतालले जनाएको छ । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन गएका थिए । साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए ।
न्यायाधीशमा कोरोना देखिएपछि अदालत बन्द
जिल्ला अदालत मोरङका न्यायाधीश कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशको नतिजा पोजेटिभ आएको हो ।
अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायाधीशसहित चार जनाको स्वाब संकलन गरिएको थियो । न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनका लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए। अदालत पूर्ण रूपमा बन्द गरि सेनिटाइज गरिनेछ र सेवाग्राहीको लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ ।