धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राई, जनप्रतिनिधि दिनभर दौडधुपमा लागे । कारण थियो–धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि संक्रमितलाई राख्न बेड खाली नहुनु र धरान उपमहानगरपालिकाले नै छुट्टै आइसोलेसन बनाउनुपर्छ भनेर आइसोलेसनका लागि ठाउँ खोज्न ।
अन्ततः मेयर, जनप्रतिनिधिले धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको भवनमा २० वटा बेडसहितको आइसोलेसन कक्ष बनाउने भएका छन् ।
स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार दिनभरको दौडधुपपछि बल्ल सो ठाउँ छनौटमा परेको र त्यहाँ २० वटा बेडसहितको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएको सुनाए । ‘धरान–१० का संक्रमितलाई बीपी प्रतिष्ठान पठाइसकेका छौं’, उनले भने, ‘भोलि त्यहाँ २० वटा बेड खाली हुने कुरा भएको छ, त्यहाँ पनि धरानका संक्रमितलाई पठाउँछौं साथै धरान उपमहानगरपालिकाले पनि छुट्टै आइसोलेसन बनाउनुपर्छ भनेर लागिपरेको छ ।’
धरानमा ५५ जना संक्रमित थपिएसँगै उपमहानगरपालिका लागिपरेको हो । ‘बीपीमा आइसोलेसन अभाव हुँदै गएपछि धरानका संक्रमितलाई कहाँ राख्ने समस्या थियो, सिरियस भएर लागिपरेका छौं’, उनले भने ।
उनका अनुसार सोमबार थपिएका ९ जना संक्रमितमध्ये कतिपय एन्फा क्वारेन्टाइनमै छन् भने वडाको निगरानीमा होम आइसोलेसनमै समेत छन् ।
‘अहिले छलफल सकिएको छ’, वडाध्यक्ष मनोज भट्टराईले भने, ‘हरियाली सामुदायिक वनमा स्वास्थ्य, सुरक्षाको ‘प्रोटोगल’ पुरा गर्दै स्टेप १ का संक्रमितलाई त्यहाँ राख्ने, अन्यलाई बीपी लैजाने निर्णय भएको छ ।’ उनले भने, ‘भोलिदेखि वनमा स्रोत साधन खर्चिदै ‘रफ्तार’मा काम अघि बढिहाल्छ ।’