विराटनगरः प्रदेश १ मा बुधबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकाहरूमध्ये मोरङको विराटनगरमा १२ पुरूष, बबिया १ पुरूष, गुलुमका १ पुरूष र रंगेलीका ३ महिला र ६ पुरूष रहेका छन् । त्यस्तै, सुनसरीको धरानमा ४ महिला र ५ पुरूष, दुहबीमा ३ पुरूष र कोशी गाउँपालिकाका २ पुरूष रहेका छन् ।
झापाको मेचिनगरका ३ महिला र ३ पुरूष र भद्रपुरका ३ पुरूष रहेका छन्, भने प्रदेश बाहिर रौतहटका १ जना पुरूष रहेका छन् ।
प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार ११८ जना डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८७८ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत एक जना प्रहरीसहित विराटनगर महानगरपालिकामा बुधबार १२ जना संक्रमित थपिएका छन् ।
विराटनगरमा देखिएका संक्रमितमध्ये इलाका प्रहरी कार्यालय रानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) लाई पनि कारोना संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरानो संक्रमितको संक्रमितको संख्या ३५४ पुगेको छ ।