धरानः धरान–४ गैरीगाउँ (शिवजट्टा जाने बाटो छेऊ) की १२ वर्षीया बालिका ममता राई झुन्डिएर आत्महत्या प्रकरणले नयाँ रुप लिँदै गएको छ ।
धरान उपमहानगरपालिकाको बाल सञ्जालले घटनाबारे चासो लिएसँगै सफेद चरण सामाजिक बहिष्कारविरुद्ध मानव अधिकार संरक्षण धरानले पनि घटनाबारे चासो लिएको छ । सफेद चरणको टोली घटनास्थल पुगी स्थानीयबासी र पीडित परिवारसँग राय लिएको थियो । सफेदकी सचिव कमला राईले स्थानीय र पीडितसँगको राय लिइसकेपछि बालिकाले आत्महत्या नभई हत्या गरिएको हुनसक्ने आशंका गरिएको बताइन् । घटनास्थलमा चप्पल भेटिएको, झाडी माडिएको, घटनास्थल केही तल्लोपट्टि बालिकाले कानमा लगाएको टप फेला परेको उनले बताइन् । पीडित परिवारले पनि मर्ने अवस्था नरहेको जानकारी दिँदै आएको उनले बताइन् ।
‘बाख्राको खोरमा बालिकाको जीउ आधा भुइँमा छ, कुइँनाले भुइँ छोएको छ’, उनले भनिन्, ‘नानी उभिँदा पनि कुइँनाले छाना छुन्छ, त्यसैले घटनाको सत्यतथ्य छानविन होस् ।’ फेरि पनि यस्तो घटना नदोहोरियोस् र सत्यतथ्य बाहिर आउनुपर्ने पर्ने भन्दै आफुहरू लागिपरेको उनले बताइन् ।
स्थानीयबासीका अनुसार परिवारमा जम्मा ९ जनाको सदस्य थिए । ‘९ सदस्यमध्ये चारजनाको ज्यान गइसकेको पायौं’, घटनास्थल पुगेकी सचिव कमला राईले थपिन, ‘शुरूमा करिब ६ वर्षको नाबालिकाको मृत्यु भएपछि फेरि ३ वर्ष नाबालिकाको पनि मृत्यु भएको रहेछ, यस्तै, लकडाउन शुरू भएको हप्तामा आमाले विष सेवन गरेर आत्महत्या गरेको पाइयो, उनको पेटमा तीन महिनाको बच्चा समेत रहेको पाइयो ।’ धरान बाल सन्जालले पनि बालिकाको ‘आत्महत्या’ नभई ‘हत्या’ भएको हुनसक्ने दावी गर्दै आएको नगर उपाध्यक्ष सुजाता राईले बताइन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले थप अनुसन्धान भइरहेको बताए । ‘आजसम्ममा रिपोर्ट आइसक्छ, रिपोर्टले के भन्छ, सोहीअनुसार अघि बढ्छौं ।’
राहत दिएर फर्कियो टोली
सफेदको टोलीले पीडित परिवारलाई राहत वितरण गरेर फर्किएको छ । ५० केजी चामल, ४ लिटर तेल, तीन किलो चिनी, तीन दाल, ५ बन्डिल बिस्कुट, एक बोरा भुजा सहयोग गरेको सचिव राईले बताइन् ।


