कोशी अस्पतालमा एक संक्रमितको मृत्यु, विराटनगरमा ४३ संक्रमित थपिए
विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरूषको मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । निमोनिया भई स्वासप्रश्वासमा समस्या रहेका बिरामीको उपचारको क्रममा मृत्यु भएको हो । बिरामीमा कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको रिपोट अनुसार बिहीबार सात बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
यसैबीच विराटनगरमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमितमध्ये २४ जना पुरुष र १९ जना महिला छन् ।