सुनसरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रशासनले ७ दिनका लागि जिल्लाका सबै क्षेत्रलाई निषेध गरिएको जनाएको छ । कोभिड १९ संक्रमणको दर यस जिल्लाका साथै छिमेकी जिल्लाहरूमा समेत बढेकोले भाद्र ७ गते राति १२ बजेसम्मको लागि निषेध क्षेत्र कायम राख्ने निर्णय भएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीय तहहरूमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा सुनसरी समेत संक्रमितको संख्या थपिँदै गएकाले निषेधको मिति थप कायम राख्ने निर्णय भएको हो ।
प्रशासन कार्यालयले यसअघि पनि ५ दिन र ६ दिन गरी दुईपटक निषेधित क्षेत्र घोषणा गरेको थियो । पछिल्लोपटक थपिएको समय सीमा आइतबार (आज) राति १२ बजे सकिँदै छ । जिल्लाभित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि साउन ३२ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ७ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको हो ।
