धरानः धरानमा भदौ १० गतेसम्म लकडाउन थपिएको छ । मंगलबार बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म बढाएपनि तरकारी बजार भने खुल्ला हुन पाउने छैनन् । तरकारी, दुधजन्य परिकार र खाद्यान्न पसल बिहान ८ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
कार्यपालिकाको निर्णयअनुसार भानुचोक छेऊमा रहेको सब्जीमण्डी र धरान–३ मा रहेको पालिका तरकारी बजार खुल्न पाउने छैन । निर्णयअनुसार नगरपालिकामा दर्ता भएका व्यापारीहरूले कृषि बजारबाट तरकारी खरिद गरी ल्याएर वडा तथा टोलमा सामाजिक दुरी कायम गर्दै बिक्री गर्न पाउनेछन् । उता धरानस्थित कृषि उपज बजारस्थल समितिको बैठकले खुद्रा बिक्री गर्न नपाइने र प्रतिबन्ध नै लगाइएको जनाएको छ । मंगलबार सुनसान देखिएका दुई स्थानका तरकारी बजार । फोटोः लक्ष्मण थापा





