विराटनगरः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने युवा जेल चलान भएका छन् ।
घाइते बनाएको आरोपमा पक्राउ परेका उनी जेल चलान भएका हुन् । ३४ वर्षीय ‘भाले’ भनेर चिनिने भुवन ठकुरीलाई अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । मोरङ अदालतका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले मंगलबार ठकुरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
गाउँपालिकाको पटके कर सम्बन्धी सामान्य विवाद हुँदा पहिलेदेखि नै पटके करको ठेक्का पाउँदै आएका भुवन ठकुरीले कार्यालय हाताभित्रै खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । असार ३१ गते गत आर्थिक वर्षको पटके करको ठेक्काको म्याद सकिएपछि गाउँपालिका आफैले कर संकलन गर्न थालेपछि ठकुरीले उक्त ठेक्का आफूले नै पाउनु पर्ने भन्दै गाउँपालिका अध्यक्ष कार्कीलाई भेट्न पुगेका थिए । तर अध्यक्ष कार्की र ठकुरीबीच कुरा नमिलेपछि नजिकै उभिएका गार्डले कम्मरमा भिरेको खुकरी खोसेर एक्कासी प्रहार गरेका थिए ।