विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित दिनहुँ थपिएका आएका छन् । बिहीबार मात्रै ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार तीन सय ९७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी बितेको २४ घण्टामा यतिका संक्रमित थपिएका हुन् । सुनसरीमा १२, मोरङमा १०, तेहथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा समान १ तथा प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
धरानका ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, कोशी मा ४ पुरुष, रामधुनी र दुहवीमा समान १ पुरुष, मोरङको बुढीगंगामा २ महिला र २ पुरुष, सुन्दरहरैचामा १ महिला र ५ पुरुष, तेहथुमको म्याङलुङमा ३ महिला र ६ पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै उदयपुरको त्रियुगामा १ महिला र ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुष महोत्तरीका २ महिला र १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार महोत्तरीका दुई महिला र एक पुरुष, धनुषा र जनकपुरका एक–एक पुरुष र सिरहाका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ बाट बिहीबार १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना डिस्चार्ज भएका छन् ।
यसैबीच विराटनगरका ६ जना पत्रकार कोरोना जितेर घर फर्किएका छन् । तीनदिनअघि दिएको स्वाब परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना जित्नेहरुमा मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्रनारायण ठाकुर र दिनेश साह रहेका छन् ।