धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
भोलि ७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधको समय सकिँदैछ । जिल्लाको डिसिसिएमसीको बैठकले भदौ १४ गतेसम्मका लागि सुनसरीलाई निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार सो समय अवधिभर सुनसरीभरी अत्यावश्यक सेवा र कामबाहेक हिँडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन ।
कोभिड १९ संक्रमणको दर यस जिल्लाका साथै छिमेकी जिल्लाहरूमा समेत बढेकोले भाद्र १४ गते राति १२ बजेसम्मको लागि निषेध क्षेत्र कायम राख्ने निर्णय भएको कार्यालयले जनाएको छ ।
प्रशासन कार्यालयले यसअघि पनि निषेधित क्षेत्र घोषणा गरेको थियो । यसअघि कार्यालयले निषेधको म्याद थपेपछि धरानमा पनि लकडाउन थपिएको थियो । धरानमा १० गतेसम्म लकडाउन छ । जिल्लाभित्रका धरान, दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्रलगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि निषेधित्र क्षेत्र घोषणा गरेको हो ।
