भोजपुरः भोजपुर प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । सबै नाका मंगलबारदेखि १५ दिनका लागि बन्द गरिएको छ । यदि सवारी साधनले यात्रु ओसारे यात्रुसहित फिर्ता पठाउनेसम्मको नियम बनाइएको छ ।
कोरोनाको संक्रमणदर बढ्न थालेपछि सबै नाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
यस्तै जिल्लाभर सञ्चालनमा रहेका साना तथा ठूला सबै होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनलाई नाकामा निर्मलीकरण गरिने भएको छ । निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्था मिलाउने र मालवाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रुसहित फिर्ता पठाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भोजपुर नगरपालिका ६ को देउरालीमा रहेको क्वरेण्टीन स्थलमा २० शथ्या, पर्यटन सूचना केन्द्र टक्सारमा १६ शय्या, जिल्ला अस्पतालमा १० शथ्या र अस्पतालको कुरुवा घरमा १४ शथ्या क्षमताको आइसोलेशन वार्ड बनाइने भएको छ । प्रत्येक पालिकाका स्वास्थ्य केन्द्रमा पाँच वटा अक्सिजन सिलिण्डरसहितको उपचार व्यवस्था मिलाइने भएको छ ।
अरुण गाउँपालिकाको जरायोटारमा रहेको होल्डिङ सेन्टर व्यवस्थापन तथा भोजपुर धनकुटा जोड्ने एकमात्र लेगुवाघाटको हेल्प डेक्स सञ्चालनलाई निरन्तरता दिनका लागि भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाले १४ लाख र अन्य सात गाउँपालिकाले पाँच लाखका दरले जम्मा ४४ लाख रकम संकलन गर्ने तयारी गरेको छ ।