विराटनगरः प्रदेश १ का झापा, इलाम र मोरङ जिल्लाका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
सोमबार मोरङको केराबारी गाउँपालका–६ बाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
सोमबार बेलुका ७ बजे इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१०प ७६९३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका केराबारी गाउँपालिका–५ का २२ वर्षीय रुपेश राई, धरान–८ की ३० वर्षीया अविमाया राई र २० वर्षीय उत्सव लिम्बूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले डाइजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागूऔषध बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानुनी कारवाहीका साथै थप अनुसन्धान भइरहेको छ ।
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बाह्रदशी गाउँपालिका–३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको हो ।
यसैगरी इलामको माङसेबुङ गाउँपालिका–५ का १९ वर्षीय प्रेम राई र १७ वर्षीय अमिर लिम्बू नियन्त्रित लागूऔषध गाँजासहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २ केजी गाँजासहित दुवैजनालाई पक्राउ गरेको हो ।