धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध अल्टिमेटम दिइएको छ ।
प्रतिष्ठानका नर्सहरुको आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठान व्यवस्थापनले आफूहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै विभिन्न विभागमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले विभिन्न १६ बुँदे माग अघि सार्दै २ दिनभित्र पूरा नभए डिउटीमा सहभागी नहुने चेतावनी पनि दिएका छन् । आन्दोलनमा बिरामी कुरुवा, हेल्पर र हेल्थ एडहरुले पनि समर्थन जनाएका छन् ।
उपचारमा खटिँदा बिरामी संक्रमित भएको पुष्टि भएपछि नर्सहरुलाई क्वारेन्टिनमा राखिनुपर्ने, जोखिम भत्ता दिइनुपर्ने, मास्क र पञ्जासहित पूर्ण पिपिई उपलब्ध हुनुपर्ने, वृद्धि भएको तलब पाउनुपर्नेलगायत माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका थिए ।
नर्सहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई १६ बुँदे मागपत्र पनि बुझाएका छन् । भोलिसम्म माग पूरा नगरे कालोपट्टी बाँधेर काम गर्ने नर्सहरुले बताएका छन् । त्यसपछि ११ गतेसम्म पनि मागहरु पूरा नभए सम्पुर्ण स्टाफ नर्स, हेल्पर र हेल्थ एडहरु डिउटीमा सहभागी नहुने पनि चेतावनी दिएका छन् । उनीहरूले प्रतिष्ठान निर्देशक प्रा.डा. गौरीशंकर साहलाई १६ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
शुरुमा कोरोना संक्रमित बिरामीलाई आइसियुमा राख्ने गरिएको भन्दै नर्स र बिरुवा कुरुवाहरू आन्दोलित बनेका थिए । सोमबार आइसियुमा कार्यरत् नर्स र बिरामी कुरुवाहरूले सोमबार प्रशासनअगाडि धर्ना समेत दिएका थिए ।
आइसियुमा रहेका बिरामीमाझ पिसिआर टेष्टबिना संक्रमितलाई ल्याइएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । ‘खासमा आइसियुमा आउनुपर्ने बिरामी पहिल्यै पिसिआर परीक्षणपछि ल्याइनुपर्ने हो तर बिनापरीक्षण ल्याइयो अनि पछि पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखिने गरेको छ, यसले गर्दा बिरामी कुरुवा र नर्स भागाभाग बन्ने स्थितिसम्म आएको छ ।’ कुरुवा जशोदा लिम्बूले भनिन् ।
पछि पिसिआर देखिँदा आइसियुमा रहेका बिरामी, बिरामी कुरुवा र नर्स नै जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ । ‘यसले गर्दा अन्य बिरामी, बिरामी कुरुवा र नर्स जोखिममा पर्न सक्छन तर बीपीले लापरवाही गरिरहेको छ’, बिरामी कुरुवा मुकेश खड्काले भने, ‘यस्तो लापरवाही गर्नु त भएन नि, पहिलोपल्ट, दोस्रोपल्ट सह्यौं तीनपल्टसम्म हुँदा आन्दोलित भयौं ।’
पिसिआर टेष्टबिना बिरामी नल्याइयोस्, कोरोनासँग जुध्ने सामग्री पिपिइलगायतको व्यवस्था गरिनुपर्ने, यदि कसैलाई पोजेटिभ देखिए क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने, फ्रन्टलाइनमा काम गर्नेहरूका लागि उचित जोखिम भत्ताको व्यवस्था हुनुपर्नेलगायत उनीहरूको माग छ ।
प्रतिष्ठानमा प्राडा. ज्ञानेन्द्र गिरी उपकुलपति बनेर आएपछि अस्पतालको सुधार र प्रगति भन्दा व्यक्तिगत लाभमा केन्द्रित भएको आरोप समेत लाग्दै आएको छ । धरानका सर्वसाधारणको गुनासोलाई लिएर आन्दोलनमा उत्रिएको नेविसंघ र तरुण दलले प्रतिष्ठानको बेथिति सुधार गर्न ५ दिने अल्टिमेटम दिएको छ ।
उपकुलपति प्रा.डा.गिरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेललाई सोमवार प्रतिष्ठान परिसरमा ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिइएको हो । प्रजिअ पोखरेल प्रतिष्ठानमा आयोजित कोरोना सम्बन्धि अन्तरकृयामा सहभागी हुन आएका थिए । नेपाल तरुण दल धरान नगर अध्यक्ष हिमाल श्रेष्ठ, तरुण दल सुनसरी=१ कावा अध्यक्ष सम्पूर्ण ताम्राकार, नेविसंघ महेन्द्र क्याम्पस इकाई कावा सभापति दोर्ची शेर्पालगायतको नेतृत्वमा पुगेको टोलीले उपकुलपति र प्रजिअलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका हुन् । यसअघि १५ सुत्रीय माग सहित आन्दोलनमा उत्रिएका विद्यार्थी र युवाहरुले पछिल्लो पटक १९ सुत्रिय माग बनाएका छन् ।
यता धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना महामारीका बेला संक्रमणको रोकथाम, संक्रमितको उपचार र मृत्यु भएका संक्रमितको शव व्यवस्थापनका लागि वीपी प्रतिष्ठानमा उपमहानगर पालिकाको पहुँच र त्यस्कालागि प्रतिष्ठान जवाफदेही हुनुपर्ने बताएका छन् ।
मेयर राईले प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएपछि शवको व्यवस्थापनमा प्रतिष्ठानले कुनै भूमिका निर्वाह नगरेको समेत आरोप लगाए । यसअघि एम्बुलेन्स चालक, स्काभेटर चालकलाई हारगुहार गर्दा बल्ल शव व्यवस्थापन भएको उनको भनाइ थियो ।
प्रतिष्ठानको उपकुलपती प्रा. डा. ज्ञानेन्द्र गिरीले कोरोना महामारी युद्धको रूपमा आएको उल्लेख गर्दै नयाँ कुरा सँग जुध्दा गल्ती भएको बताए । ‘गल्तीबाट नै सिक्दै सेवालाई गुणस्तरयुक्त बनाउने भन्ने सिकाई दैनिक रूपमा भइरहेको छ, यसअघि व्यवस्थापकीय केही कमी कमजोरी भएकै हो ।’
उता प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन् ।
मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उनले बिरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिएका छन् तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न पनि मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । उनले पाँच सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।