बिर्तामोडः झापामा गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ ।
पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बिएण्डसी अस्पताल प्रशासनका अनुसार गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए ।
गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयबासी आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए ।
कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् । दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो ।