बिर्तामोडः झापा गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागेर मारिएका रसिकुल आलमको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सहमति भएको छ । बिहीबार भएको सर्वपक्षीय बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले पीडित परिवारलाई १० लाख राहत दिने सहमति बनेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।
गोरु काटेको विषयमा विवाद भएपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउँदा ३८ वर्षीय आलम घाइते भएका थिए । घाइते आलमको उपचारका क्रममा बिएण्डसी अस्पतालमा साँझपख ज्यान गएको थियो ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।