Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डुबेर र बगाएर तीनको मृत्यु

हाम्रो कोशी आवाज
असोज १ २०७७, बिहिबार
डुबेर र बगाएर तीनको मृत्यु

धरानः सुनसरी, मोरङ र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिकासहित तीनजनाको मृत्यु भएको छ ।
मोरङको रङगेली नगरपालिका–३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात विष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २ बजेको समयमा विष्टको घरदेखि करिव १५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रियाका साथै अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, घर नजिकै जमेको पानीमा साथीहरुसँगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० वर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखेर तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ वर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । घरबाट बिरेन्द्रबजारतर्फ जाँदै गर्दा बीच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा बिहीबार बिहान साढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

प्रकाशित मिति: असोज १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend