धरानः एसइई उत्तीर्ण गरेका विद्यार्थी अहिले पनि अन्यौलमा छन् । सरकारले यो वर्षदेखि नै कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । तर, निजी विद्यालयहरूले भने पुरानै पाठ्यक्रम अनुसार भर्ना समेत आह्वान गरेको पाइएको छ । यसले विद्यार्थीहरू अन्योलमा पर्दै गएका छन् ।
शिक्षा मन्त्रालय, निजी विद्यालयका संगठनहरू तथा अन्य सरोकारवाला निकायबीचको विवादका कारण विद्यार्थी र अभिभावकमा अन्योल थपिएको हो। जसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरेका चार लाख ७२ हजार ७८ जना विद्यार्थी समस्यामा परेका छन् । निजी मात्र नभएर सरकारी विद्यालयअन्तर्गतका विगतमा प्लस २ अध्यापन गराउँदैं आएका शिक्षण संस्थाहरू पनि के गर्ने अन्योलमा छन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालयहरूले पुरानै पाठ्यक्रम अनुसार भर्ना लिइरहेको भए स्थानीय तहमा उजुरी गर्न आग्रह गरेका छन् । नयाँ पाठ्यक्रम लागू भएरनभएकोबारे स्थानीय तहले अनुगमन गर्ने भन्दै त्यस्तो पाइएको खण्डमा कारबाही गर्न समेत अनुरोध गरे ।
विद्यार्थी पनि नयाँ पाठ्यक्रम लागू हुने वा पुरानै पाठ्यक्रम अनुसार पढाई हुने हो, त्यसमा चिन्तित देखिएका छन् । सरकार जसरी पनि लागू हुन्छ भनिरहेको छ । तर, जुन स्कूलमा बुझ्न जाँदा पनि पुरानै संकाय प्रणाली अनुसार पढाई हुन्छ भनिरहेको विद्यार्थीले बताएका छन् । उनीहरूले सरकारले सबै निकायसँग छलफल गरेर एउटा निर्णयमा पुगेको भए सहज हुने बताउँछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने जसरी भएपनि यो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागू हुने स्पष्ट पारेका छन् । ‘कक्षा ११ को पाठ्यक्रम सबै विद्यालयमा लागू गर्ने निर्णय भइसकेको छ,’ मन्त्री पोखरेलले भने, ‘कोभिडका कारण नयाँ सिराबाट अगाडि बढ्नुपर्नेछ। सरकारले नयाँ पाठ्यक्रम अनुसार नै तयारी गरेको छ। सोही नीति लागू गर्न संघ संस्थाले ध्यान दिनुपर्छ ।’ उनले नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भन्दै विद्यार्थीहरूलाई अन्योलमा नपर्न आग्रह गरे ।