धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
गम्भीर रुपमा अस्वस्थ भएका उनको मंगलबार साँझ निधन भएको हो । उनी वि.सं. २०१६ देखि धरान नगरपालिकाको तीनपटक प्रमुखमा निर्वाचित भए ।
पुराना राजनीतिज्ञ तथा कथाकार आचार्य स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । उनकै अगुवाइमा नेपालमै पहिलोपटक सामुदायिक बिजुली उत्पादन गृह (पावर हाउ) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
राजा वीरेन्द्रको शासनकालमा गाउँफर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजसभा स्थायी समितिका सदस्य रहदा दलविहीनता र राजाको सक्रिय नेतृत्वको भाष्यकारका रुपमा आचार्य चर्चित थिए ।
धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मिएका उनी मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचाररत थिए ।
८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक थियो । जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेहथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन् ।
राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । कथाकार आचार्यका तीन कथासंग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे, जे भोगे’ प्रकाशित छ । आचार्यका कथासंग्रहहरु फ्युजनको जगमा शिलान्यास (२०७०), मुक्तात्मा दोश्रो (२०६९), मुक्तात्मा पहिलो (२०२०) का साथै प्रजातन्त्रोत्तर नेपालको परराष्ट्रनीति (२०१६) पुस्तकार रुपमा प्रकाशित भएका छन् ।
स्वास्थ्यमा क्रमिक सुधार आइरहेकै बेला केही दिनपछि अकस्मात मृगौलामा समस्या बढेपछि मृगौला विज्ञ डा. आर. के. अग्रवालबाट डायलासिस गरिएको थियो । क्रमिक रुपमा स्वास्थ्यलाभ भएपछि भदौ ३१ गते सा‘झ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, पुनः स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी हुँदै दलविहीन पञ्चायती व्यवस्थामा समेत गरी करिब चार दशक सक्रिय राजनीतिमा आचार्य संलग्न रहेका थिए ।